काठमाडौँ– राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आइतबार बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् ।
आफ्नो रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजना सफल नभएको उनको दाबी छ । १८ दिनको कारागार बसाइँले धेरै कुरा सिकाएको बताउँदै उनले भने, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ ।’
उनले अगाडि भने, ‘यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन ।’
२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तर उनीहरु फरार भएका थिए । उनी गत वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया