देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तामोह जालमा फसेको कांग्रेस


‘लोभले लाभ लाभले विलाप’ अवस्था गुज्रीदैँछ नेपाली कांग्रेस । सत्ता प्राप्ति उद्देश्य प्रेरित १५ वर्षसम्म टिक्ने भनिएको कांग्रेसको नेतृत्वको पाँचदलीय गठबन्धन २०७९ निर्वाचन परिणामलगत्तै तासको घर ढलेजस्तो गरेर ढल्यो । माओवादी केन्द्र अध्यक्ष तेस्रो पटक सम्माननीय प्रधानमन्त्री पदमा आसीन छन् कांग्रेसको सौजन्यमा होइन । अघिल्लो दिनसम्म सत्तोसराप गर्ने एमाले अध्यक्ष तथा माओवादी केन्द्र अध्यक्षबीचको भएको सत्ता साझेदारीसम्बन्धी सम्झौता अनुसार । हेक्का रहोस् त्यस्तै सम्झौता एमाले अध्यक्ष खड्गप्रसाद ओली तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच पनि २०७४ सालको संघीय प्रतिनिधिसभाको निर्वाचनलगत्तै भएको थियो । बृहत् कम्युनिस्ट एकता अनुरूप एमाले तथा माओवादी दुई दल समायोजन भएर नेपाल कम्युनिस्ट पार्टी जन्मेको थियो । उक्त दलको आयु तीन वर्ष आधा आवादी रह्यो ।

‘जनयुद्ध’को घोषणा शेरबहादुर देउवाले प्रथम पटक प्रधानमन्त्री पदभार (२०५२) सम्हालेलगत्तै गरिएको थियो । देशमा अशान्ति मच्चाउँदै फैलिएको उक्त ‘युद्ध’ एक दशक लम्बियो । एक दशक (२०५२–२०५३) अवधिमा मानव क्षतिको अनुमान १७ हजार, हजारौंको संख्यामा अपांग तथा हराएका थिए । विस्थापित संख्या लाखौं थियो । भविष्य चकनाचुर पारिएका घर परिवार संख्या अज्ञात छ । भौतिक क्षतिको केही अनुमान गरिए पनि संस्थागत क्षति तथा देशको विकास प्रक्रिया कति वर्ष पछि पर्‍यो त्यसको अनुमान कठिन छ । निश्चित चाहिँ के हो भने मानवीय तथा भौतिक क्षति हुने मध्ये पीडित हुने सर्वसाधारण नागरिक विशेषगरी कांग्रेसजन अत्यधिक धेरै छन् । विगत तथा भविष्य गुमाएका तिनै कांग्रेसजनलाई नेतृत्वले समन जारी गरेर अघिल्लो (२०७४) स्थानीय निर्वाचनमा तथा २०७९ निर्वाचन का क्रममा तिनै तहका माओवादी उम्मेदवारको समर्थन तथा प्रचारप्रसार गर्ने आदेश जारी गर्‍यो । ‘कांग्रेस भनेको माओवादी माओवादी नै कांग्रेस’ नारा घन्काउने कांग्रेस देखा परे । वर्तमान कांग्रेस सभापति अत्यन्त उदार छन् । तिनको पैतृक घर माओवादीले बम पड्काएर ध्वस्त पारेको थियो । तै पनि तिनले दल अध्यक्षको हैसियतले पुष्पकमल दाहाललाई पटकपटक ‘पाँच वर्ष प्रधानमन्त्री पद लेखेर दिने’ वाचा गर्दै आएका हुन् ।

पुस १, २०१७ का दिन राजा महेन्द्रले नेपाली कांग्रेस दल अध्यक्ष, संसदीय दल नेता एवं सर्वाधिक लोकप्रिय प्रधानमन्त्रीको नेतृत्वमा रहेको सत्ता खोसेका थिए । विडम्बना ६२ वर्ष पछि पुस १०, २०७९ दिन नेपाली कांग्रेस दल अध्यक्ष, संसदीय दल नेता तथा प्रधानमन्त्रीको मुखैमा पर्न आँटेको सत्ताको गाँस खड्गप्रसाद पुष्पकमल दाहाल जोडीले खोसी दिए । त्यस दिनदेखि कांग्रेस नेतृत्वले गुमाएको सन्तुलन कायम नै छ । नेतृत्व पंक्ति सबै अचेत अवस्थामा रहेको संकेत देखा पर्दै छन् ।

कांग्रेस ‘शीर्षस्थ नेतृत्व’ तहका सबै नेता सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको सदाशयमा राष्ट्रपति पद प्राप्त भइहाल्छ कि भन्ने आशाको त्यान्द्रो समाएर झुन्डिराखेका छन् । त्यही अभिलाषामा दाहाल नेतृत्व सरकारको समर्थक हुन कांग्रेस पुग्यो । उक्त कदमले ‘प्रतिपक्ष दल’ को नैतिक हैसियत गुमेको भ्याउ पाउन सकेको छैन । फागुन १ लाई ‘जनयुद्ध दिवस’ घोषणा गर्ने सरकारी निर्णयलाई कांग्रेसले मौन समर्थन गर्‍यो । उक्त दिन माओवादी शैलीमा गरिएका प्रहरी सवारी साधनको आगजनी तथा मोबाइल टेलिफोन दोकान लुटपाटका घटनाको आमुक दर्शक भयो । जतिसुकै घातक भए पनि सरकारी निर्णय वा अनिर्णयको सहयात्रीको रूपमा कांग्रेस प्रस्तुत हुँदैछ । सरकारी कार्यको विरोध गर्ने नैतिक आधार गुमाएको छ ।

शिवरात्रि पर्व मनाउन आएका नांगा जोगीले कमाण्डलु देखाउँदै भिख माग्दै हिँडेको अवस्थामा छन् । दुई प्रखर कांग्रेस नेता तथा तिनका अनुयायी । निर्वस्त्र अवस्थामा तँछाड मछाड गर्दै पौडेल तथा सिटौला राष्ट्रपति पदको भीख माग्दै ढोकाढोका धाउन व्यस्त छन । अर्काथरी नेता पुष्पकमल दाहाल एमाले अथवा अध्यक्ष खड्गप्रसाद ओलीमध्ये एकले सुनको थालीमा सत्ता नेतृत्व प्रस्ताव लिएर धापासी निवासको ढोका भित्रिने प्रतीक्षामा छन् । दाहाल ओलीबीचको ‘भद्र सम्झौता’ विगतमा भएका भद्र सम्झौता जस्तै भंग हुने दिनको उनीहरू पर्खाइमा छन् । त्यस दिनको भविष्यवाणी गर्न थालेका छन् उदयमान नेताहरू । निकट भविष्यमै खडग प्रहारको चोटपटकले धुन बजाउँदै ढाडमा चढेर दाहालले गरेको टाउकोमा प्रहारबाट रन्थनिँदै ओलीको आगमन फागुन महिना अन्त हुने भविष्यवाणी गर्न व्यस्त छन् ।

गौरवशाली इतिहास भजाउँदै सत्ताको बागडोर सम्हाल्ने अवसर पाएको कांग्रेस सत्ता प्राप्तिपछि गरेका गल्तीहरूको गरुंगो भारीले उठ्न नै नसक्ने गरेर वर्तमान कालखण्डमा थिचिएको छ । राष्ट्रिय दृष्टिकोण, राजनैतिक वैचारिक तथा नीतिगत धारणाको शून्यताले गर्दा प्रत्येक दिन अघिल्लो दिनभन्दा बढी कठिन हुँदैछ यस दललाई । नेतृत्वको एकल उद्देश्य सत्ता प्राप्ति भएको छ । कुन दिन उक्त अवसर आउनेछ भनेर दाँत तिखार्न अग्रसर छन् एक पंक्ति । गुमेको हैसियत सत्ताप्राप्तिबाट फिर्ता हुँदैन भन्नेमा विस्वस्त छन् असली कांग्रेसजन । अघिल्लो पटक नेपाली कांग्रेस सभापतिले नेतृत्व तर माओवादी हाबी भएको सरकारले गुमाएको छविको संस्मरणसम्मले पनि उनीहरू अत्तालिन थालेका छन् । १८ महिनाको शासनकालले कांग्रेस अझ धेरै पिछा घचेटेको वास्तविकताबाट उनीहरू अनभिज्ञ छैनन् । उक्त तिक्त अनुभवले सत्तासीन हुन पाएको खण्डमा गुमेको हैसियत फिर्ता हुने भन्दा अझ बढी दलले सम्मान गुमाउनेमा उनीहरू विश्वस्त छन् । सत्ता प्राप्तिको खुसीयालीभन्दा त्यसपछिका दिनमा कमाइने बदनामीबाट उनीहरू बढी आतंकित छन् । पार्टी अध्यक्षको सेरोफेरोमा रहेका ‘सुकिला मुकिला’ पोसिने तथा तिनका निजी ज्योतिषीको बजार मूल्य अकासिने सिवाय अरू केही हुनेवाला छैन । देशको अवस्था सुध्रने त परै जाओस् दलको अवस्था झन्झन् दलदलमा फस्ने निक्र्योल छ ।

तीव्र गतिमा ओरालो उन्मुख हुनाको कारण ‘बीपी –विश्वेश्वरप्रसाद कोइराला विचारबाट विचलित भएको हुनाले’ भन्ने प्रचलन हाबी भएको छ । ‘बीपीको विचार आज पनि उत्ति नै सान्दर्भिक छ जति हिजोका दिनमा थिए’ भन्ने जोडदार तर्क अघि सारिने गर्छ । उक्त अभिव्यक्तिहरूलाई बोझिलो तथा चमकदार तुल्याउन ‘बीपीवाद’ शब्दको आविष्कारसमेत गरिँदै छ । निश्चय नै कांग्रेस दलभन्दा साथै बीपीको व्यक्तित्व हाम्रो सामुन्ने स्वतः नै आउँछ । सत्तामोहले कांग्रेस भ्रष्टीकरण भएको हो भने के के सत्तामोह थिएन बीपीमा रु सत्तामोह नभएका राजनैतिक नेताहरू इतिहासमा भेटिँदैन । फरक त्यत्ति हो कोही आफ्नै नेतृत्वमा सरकार सञ्चालन होस् भन्ने ठान्छन् भने कोही आफ्नो अगाडि अर्को पात्रलाई खडा गरेर सत्ता सञ्चालनको रसस्वादमा रमाउँछन् । सत्ता प्राप्त अवसर गुमाएको वर्णन गरेर जिन्दगी बिताउने नेताले उक्त अवसर गुमाएको मा पछुतो मान्छन् । निश्चय नै अन्य राजनैतिक पात्रहरू सरह बीपीमा पनि सत्तासनि हुने तीव्र मोह थियो ।

बीपीको व्यक्तित्व उहाँका अग्रजजस्तै मात्रिकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य तथा डिल्लीरमण रेग्मीको भन्दा उच्च थियो । त्यही कारणले गर्दा उहाँका समकालीन सुवर्णशमशेर, गणेशमान सिंह तथा सूर्यप्रसादले बीपीलाई आजीवन नेता माने । त्यसो हुनाका कारण बौद्धिक तथा राजनीतिक दक्षताजस्ता गुणहरू मात्रै कारण थिएनन् । देशप्रतिको बफादारिता, नेपाली नागरिकप्रतिको मोह तथा तिनको उत्थानजस्ता विषयमा निरन्तर चिन्तित रहनु प्रमुख कारण थिए । बीपीलाई सत्ताको मोह हुनाका कारण थिए । उहाँलाई सत्ता प्राप्तिबाट देशमा सुशासन कायम गर्न सक्छु भन्ने आत्मविश्वास थियो । देशवासीको उन्नतिका निमित्त आफू सत्तासीन हुन जरुरी छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । समायोचित व्यवस्थापनबाट सही दिशा वा गन्तव्यतर्फ देशलाई छोटो अवधिमा उन्मुख तुल्याउने क्षमता अन्य नेताहरूभन्दा आफूमा बढी छ भन्नेमा उहाँलाई शंका थिएन ।

दाजु प्रधानमन्त्री मातृकाप्रसादको विरोध बीपीले गर्नाको पछाडिको प्रमुख कारण दाजुमा देशको व्यवस्थापन जिम्मेवारी पूरा गर्ने क्षमताको अभाव थियो भन्नाले हो । बीपीका समकालीन नेतालाई थाहा थियो प्रधानमन्त्री मातृकाको साथ त्याग्नु भनेको राजाको चाहनाविरुद्ध खडा हुनु हो । तिनीसँग सत्तामा रहँदा चुकाउनुपर्ने मूल्य सुवर्णशमशेर, गणेशमान सिंह तथा सूर्यप्रसादजस्ता अग्रपंक्तिका नेताहरूलाई मात्र होइन समस्त कांग्रेस दल सदस्यलाई थाहा थियो । उनीहरूले शक्तिशाली प्रधानमन्त्री मातृकाप्रसादको विरोध गर्दै बिनाशक्तिका बीपीलाई साथ दिए । त्यसको मूल कारण उहाँको नेतृत्वमा देश तथा दलको भविष्य सुरक्षित हुन्छ भन्ने थियो । बीपी श्रीमतीको उग्र विद्रोहका बाबजुद २०१५ को निर्वाचनपश्चात्, पार्टी सभापति, संसदीय दलका नेता तथा प्रधानमन्त्री बन्न अग्रसर हुनु तथा उक्त कदमको समर्थनमा समस्त नेता कार्यकर्ता खडा हुनुको पछाडिका कारण पनि यही नै थियो ।

विडम्बना तिनै बीपीका अनुयायीहरू सत्तामोह उद्देश्य पूर्तिकै निमित्त मरिहत्ते गर्दैछन् । तिनलाई देशवासी त परै जाओस् दलकै भविष्यको पनि चिन्ता शून्य छ । निश्चय पनि कमजोर कांग्रेसको विकल्प सबल कांग्रेस हो । बिना लोकतन्त्र देशको हबिगत बदलिनेवाला छैन । लोकतन्त्रको जगेर्ना गर्न आउँदा केही वर्षसम्म कांग्रेसको विकल्प अर्को दल हुने सम्भावना न्यून छ ।