लठजी आज्ञा गर्नुहुन्छ, हे बैरी हो । आजभन्दा ठीक ७३ वर्षअघि नेपालमा प्रजातन्त्र आएको दिन । यो ७३ वर्षको अवधिमा यो प्रजातन्त्रको विकसित भएर पर ऽ जा ऽ तन्त्रका रूपमा परिवर्तन भएको देखिन्छ । सात सालमा जुन संघर्ष र बलिदानबाट प्रजातन्त्र आयो । अहिले त्यसको कुनै मूल्य नै भएन ।
१०४ बर्से जहाँनिया राणाशासन अन्त्यका लागि धेरैले बलिदानी दिए । विचार र सिद्धान्त अनि देशबाहेक केही पनि सोच्दैनथे, त्यसबेला जनताको परिवर्तन चाहने नेतृत्वहरू । व्यवस्था पनि परिवर्तन भयो अवस्थामा पनि क्रमशः परिवर्तन भयो । तर, अहिले त्यसको ठीक उल्टो भएको छ । अघिल्लो अध्यायमा मैले बैरीहरूलाई सुनाएको थिए । जनताको परिवर्तनका लागि लागेको सालिक भयो । सत्ता र मालिकका विरुद्ध उत्रिएको जस्तो गरेका व्यक्ति आफैं मालिक भयो ।
नेपालभन्दा गरिब अनि अरूको शासनमा बसेका देशहरू यही ७० वर्षको अवधिमा निकै रूपान्तरण भए । देश सक्षम बन्यो, जनता समृद्ध बने विकासको परिवर्तन निकै नै चुलियो । तर नेपालमा न त देश सक्षम भयो न त जनता समृद्ध बने न त विकासमा नै परिवर्तन भयो । बरु देश र जनताका लागि भन्नेहरू आफैं परिवर्तन भइदिए ।
लठजीको आज्ञा सुनेर वैरीहरू बिन्ती गर्दछन्, ‘लठ महाराज आजको २१औं शताब्दी अनि प्रजातन्त्र ल्याएको ७३ वर्षमा पनि हाम्रो देश किन परिवर्तन हुन सकेन बिन्ती गर्नु होस् ।’
बैरीहरूको कुरा सुनेर लठजी आज्ञा गर्नुहुन्छ, तिमीहरूले मनासिव कुरा राख्यौं । यसमा तिमीहरूको पनि दोष छ । प्रजातन्त्र प्राप्तिको केही वर्ष तिम्रा पुर्खाहरूले साँच्चै नै संघर्ष गरे । करिब १० वर्ष जनताले आफ्नो अधिकार प्राप्त गरिरहँदा फेरि १७ सालमा शाही घोषणाबाट निर्वाचित सरकार तथा संसद् विघटन गरी निर्दलीय पञ्चायत व्यवस्थाको घोषणा भयो । दलहरू माथि प्रतिबन्ध लगाउँदै मुख्य राजनीति दलका प्रमुख नेताहरूलाई जेल हालियो ।
लठ महाराजको आज्ञा सुनेर बैरीहरू फेरि बिन्ती गर्छन् । महाराज त्यसो भए दलका नेताहरूलाई जेल हालेपछि के भयो त सरकार नै रहेन त ?
मुसुमुुसु हाँस्दै लठजी आज्ञा गर्नुहुन्छ । त्यसो होइन तात्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कु’ गरेपछि पुस १२ गते राजा महेन्द्रले आफ्नै अध्यक्षतमा नयाँ मन्त्रीमण्डल गठन गरे । दलहरूमाथि प्रतिबन्ध गरेका कारण र नेताहरू जेल जीवन बिताउन थालेपछि २०१८ सालमा नेपाली कांग्रेसले पटना सम्मेलन गरी सशस्त्र विद्रोह गरेको थियो ।
सोही विद्रोहकै परिणाम जनकपुर भ्रमणमा रहेका राजा महेन्द्रमाथि २०१८ माघ ९ गते बम प्रहार भयो । राजा चढेका गाडीमा थोरै क्षति भए पनि राजालाई केही भएन । राजालाई बम प्रहार गर्ने दुर्गानन्द झा फरार भए । उनका परिवारले निकै कष्ट र दुःख भोग्नु परेको थियो । उनका परिवार मात्र होइन छिमेकी र इष्टमित्र र कांग्रेसका ५६ जनालाई निकै कष्ट दिएपछि झाले गिरफ्तारी दिएका थिए । पछि उनलाई २०२० माघ १५ गते मध्यराति मृत्युदण्ड दिइयो । त्यो काण्ड जनकपुर बम काण्डले चर्चित भएको छ ।
तर राजा महेन्द्रले दलहरूमाथि प्रतिबन्ध गरेर विकासको नमुना देखाउन र जनतालाई प्रभाव पार्न २०१८ साल माघ महिनामा नै महेन्द्र राजमार्ग निर्माण सुरु गरी २०२२ सालमा उद्घाटन गरे । त्यही राजमार्ग अहिले तिमीहरूले प्रयोग गरिरहेका छौं ।
त्यसपछि के भयो त ? बैरीहरू प्रश्न गर्छन् ।
तिमीहरूलाई धेरै जिज्ञासा लागेको रहेछ । त्यसो भए लौ सुन । विदेशी इशारामा प्रजातन्त्र गुम्यो । १७ सालदेखि निरंकुश पञ्चायती व्यवस्थाको सुरुवात भयो । तर त्यसका विरुद्ध पनि आन्तरिक रूपमा संघर्ष नभएको भने होइन । नेपाली कांग्रेसले सशस्त्र विद्रोह नै गरेको भनि सके । त्यो सशस्त्र विद्रोह ठीक छैन भन्ने पार्नका लागि महेन्द्रले २०१९ साल पुस १ गते संविधान जारी गरे । नयाँ मुलुकी ऐन २०२० सालमा लागू गरे अनि भूमिुसधार व्यवस्था २१ सालमा गर्दै गाउँफर्क अभियान नै सञ्चालन गर्न भ्याए । महेन्द्र दूरदर्शी राजा थिए । त्यसैले २०२४ सालमा राजबन्दीका रूपमा रहेका बीपीलाई रिहा गरे । उनको २०२८ साल माघ १७ गते निधन भयो । त्यसपछि भयो ? ‘प्रजातन्त्र आयो त?’ बैरीहरूले प्रश्न गरे ।
लठजी भन्छन्, २०२८ सालमा आएर नेपाली कम्युनिस्टहरूले ‘वर्गशत्रु खत्तम’ अभियानका रूपमा झापा जिल्लामा सामन्त भन्दै केही नागरिकहरूको हत्या गरे । तर पनि परिवर्तनको संकेत देखिएन बरु नयाँ राजाका रूपमा सिंहासनमा बसेका वीरेन्द्रले मुुलुकलाई २०३१ साल फागुन १३ गते शान्ति क्षेत्रको प्रस्ताव गरे । पञ्चायतको अन्त्यसम्म आइपुग्दा १ सय ३१ देशले समर्थन गरे । अमेरिकालगायत विश्वका प्रमुख राष्ट्रले मान्यता दिए तर छिमेकी भारतले आफ्नो नीति अनुकूल नभएको भन्दै समर्थन गरेन ।
त्यसबेला राजा वीरेन्द्रले उनका बाबु महेन्द्रले सुरु गरेको दलविहीन पञ्चायती व्यस्थाको सबैतिरबाट विरोध भएपछि ३६ सालसम्म आइपुग्दा पनि प्रजातन्त्र प्राप्तिका लागि संस्थागत रूपमा नै दलहरू लागि परे । भूमिगत शैलीमा कांग्रेस, कम्युनिस्ट आआफ्नो विचार लिएर जनताका दैलोमा जान थाले ।
पञ्चायती शासनमा रमाउने शासकहरूले न त कांग्रेसलाई टेर्यो । न त कम्युनिस्टलाई नै देख्न सक्यो । एकातिर भूमिगत रूपमा राजनीतिक दलहरू प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरिहँदा पञ्चायती शासकहरूले भने दरबारलाई सुधारिएको पञ्चायतको नारा दिएर जनमत संघर्ष गराउने प्रयत्न गरे । जनतामा प्रजातन्त्र कि सुधारिएको पञ्चायत छान्ने भन्न लगाइयो । राजा वीरेन्द्रले ३७ सालमा जनमत संग्रह घोषणा गरी २०३७ सालको वैशाख २० गते जनमत संग्रहका लागि मतदान भयो । त्यसमा जनताले पञ्चायतलाई नै जिताए । तर कांग्रेस, कम्युनिस्ट बहुदलकै पक्षमा थिए । त्यसपछि कांग्रेसले २०४२ सालमा सत्याग्रह सुरु ग¥यो भने त्यही वर्ष २०४२ सालमा सिंहदबारमा बम काण्ड भयो ।
ओहो ! सिंहदबार भित्रै बमकाण्ड ? बैरीहरू जिब्रो टोक्दै लठजीलाई सोध्छन् ।
त्यसपछि के भयो त ?
त्यसपछि भारतीय राजनीतिज्ञहरूको समर्थन प्राप्त गरेको नेपाली कांग्रेसले एक्लै पञ्चायती शासनको विरुद्ध आन्दोलनको घोषणा गर्ने तयारी ग¥यो । कांग्रेसले आन्दोलनको घोषणा गरेपछि अर्कोतर्फ मालेलगायत १२ वटा वामपन्थी दलहरू मिलेर बृहत् आन्दोलन गर्ने सम्झौता गरेर २०४६ माघ २ गते सहाना प्रधानको नेतृत्वमा मोर्चा गठन भयो । त्यसका बाबुराम भट्टराई पनि जोडिन आइपुगे । त्यही वर्ष फागुन ७ गतेदेखि जनआन्दोलनमा ओर्लिने निर्णय कांग्रेसले गरेको थियो ।
बैरीहरू जिज्ञासा गर्छन्, त्यसो भए फागुन ७ मा कांग्रेस आन्दोलनमा आयो त ?
बहुदलीय प्रजातन्त्र प्राप्तिकै लागि संघर्ष गरिरहेको वाममोर्चासहित कांग्रेस पनि आन्दोलनमा होमिए । आन्दोलनको आँधी राजसंस्थाले रोक्न सक्ने अवस्था आएन । त्यसपछि राजा वीरेन्द्रले तात्कालीन प्रधानमन्त्री मरिचमानलाई हटाए, लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । र पनि नभएपछि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएर २०४७ साल कात्तिक २३ गते नयाँ संविधान वीरेन्द्र राजाको शाही घोषणामार्फत बहुदलीय प्रजातन्त्रको पुनस्र्थापन भयो । तर २०४६ सालमा जनआन्दोलनमार्फत प्राप्त प्रजातन्त्र आज आइपुग्दा जनताका लागि परऽ जाऽ तन्त्रमा विलीन बन्ने पुगेको छ बुझ्यौ ? लठजीको कुरा सुनी बैरीहरू न्याउरो अनुहार लगाउँदै टाउको हल्लाउँछन् ।
प्रतिक्रिया