नेपालका कम्युनिस्टका कुनै पनि समूहका नेताले बिनासंकोच तर निर्लज्ज तरिकाले प्रदर्शन गर्ने पाखण्डमध्ये मुख्य हो, लोकतन्त्रको व्याख्याको धृष्टता । बगरेले अहिंसाको वकालत गर्नु र कम्युनिस्टहरूले प्रजातन्त्र र बहुदलको परिभाषा लगाउनु हात्तीछाप चप्पल नै हो । भेडाबाख्रालाई भने त्यसको पनि छ्यान छैन । त्यो खेद हो कि पत्याउने विषय हो ? अचम्म ! अहिलेसम्म खुट्टिन र छुट्टिन सकेको छैन ।
कम्युनिस्ट पार्टीका औसद दर्जाका आलाकाँचा नेताले त त्यस्तो मूर्खता प्रदर्शन गर्ने गरेकै थिए, अब त्यो पंक्तिमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सामेल भएका एकपछि अर्को उदाहरण प्रस्तुत हुन थालेका छन् । भर्खरै मात्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित आफ्नो दलको स्कुलिङ विभागको एउटा कार्यक्रममा उनले फेरि दोहोर्याएका छन्– विचार र सिद्धान्त नभएका दलको कुनै काम छैन । तिनले आफ्नो पसल बन्द गरे हुन्छ ।
उनको कटाक्षको निशाना त थियो, नेकपा समाजवादी दलप्रति तर त्यो व्यंग्य बाण लाग्न पुग्यो, रास्वपालाई । संयोग पनि कस्तो भने यता श्याल कराउनु, उता कुखुरा हराउनु एकसाथ भयो ! विचार र सिद्धान्तसित रास्वपाको गोरु बेचेको सम्बन्ध नभएकाले त्यो बाण जसमाथि प्रहार गरेको भए पनि उसलाई लाग्न पुगेको हो ।
यद्यपि त्यो फर्केर एमाले र ओली आफैंमाथि लाग्न पुगेको वास्तविकता कसैबाट लुकेको छैन, तथापि आफ्नो बोलीको पालन आफैंले गर्न नपर्ने भएकाले त्यसमाथि ध्यान किन दिनु पर्यो र ! नत्र प्रजातन्त्र र संसदीय व्यवस्थाका सन्दर्भमा एमालेको पनि हालत त्यस्तै छैन र ? कार्ल माक्र्सले लेखेको र एङ्गेल्सको समेत नाममा सन् १८४८ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्रलाई वेद वाक्य मान्ने कम्युनिस्टहरूको मुख्य विरोध नै प्रजातन्त्र र जनताको अभिमतबाट सत्ताको परिवर्तन हुने संसदीय व्यवस्थासँग होइन र ? त्यो घोषणापत्रले भनेको छ, निर्वाचन पद्धतिबाट सर्वहारा वर्गको सत्ता कायम हुन सक्तैन, त्यसैले पुँजीवादी वर्गको हित संवद्र्धन गर्ने प्रजातान्त्रिक व्यवस्थालाई बलपूर्वक फालेर सर्वहारा वर्गको अधिनायकवाद कायम गर्नुपर्छ । कम्युनिस्ट पार्टीको घोषणापत्रको सार तत्व भनेकै त्यही हो ।
अर्को शब्दमा, कम्युनिस्टहरूको आदर्श भने पनि बाइबल भने पनि, उनीहरूको मार्गदर्शक सिद्धान्त नै त्यही घोषणापत्र हो । त्यसअघि युरोपलाई मार्गदर्शन गर्ने आदर्श, बाइबल अर्थात् क्रिस्तान धर्मग्रन्थ थियो । त्यो घोषणापत्रले धर्मलाई अफिम घोषित ग¥यो र त्याग्न भन्यो । त्यसैले मजदुर तथा गरिबलाई संगठित भएर पुँजीवादी तथा बुर्जुवाको संसदीय व्यवस्था ध्वस्त पारेर कम्युनिस्ट शासन व्यवस्था स्थापित गर्न आह्वान ग¥यो । त्यसै बेलादेखि प्रजातन्त्र, धर्म र संसदीय व्यवस्था कम्युनिस्टका निम्ति शत्रु घोषित भएका हुन् ।
प्रजातन्त्रवादीले निरंकुश राजतन्त्रका विरुद्ध क्रान्ति गरेर जनतामाथि हुने शासन व्यवस्था, जनताकै प्रतिनिधिबाट मात्र हुनुपर्छ भन्ने मान्यता स्थापित गरेको थियो भने कम्युनिस्ट चाहिँ त्यस्तो प्रजातान्त्रिक व्यवस्थालाई क्रान्तिबाट उल्टाएर सर्वहाराको अधिनायकवाद स्थापना गर्न आएको विचार र सिद्धान्त हो । एमाले भनेको एकीकृत माक्र्सवादी–लेनिनवादी पार्टी हो । त्यो पार्टी र त्यसका नेताले प्रजातन्त्र र लोकतन्त्रको व्याख्या गर्न खोज्नु भनेको बगरेले अहिंसाको भाषण गरेको ठान्नुको हो, त्यही कारण भनिएको हो । अरूलाई विचार र सिद्धान्तको अर्ती र उपदेश दिने ओलीले कम्युनिस्ट सिद्धान्तप्रतिको निष्ठा र प्रतिबद्धताको बाटो आफूले बिराएको छ कि छैन, त्यसको हेक्का राख्नुपथ्र्यो । आफ्नो आङको भैंसी नदेख्नेले अरुको आङको जुम्रा कसरी केलाउन सकेको ?
लाज र शरम मान्न छाडेपछि इज्जत र प्रतिष्ठा जोगाउने चिन्ताबाट मानिस मुक्त हुन्छ । त्यसपछि जे बोले पनि भयो, जे गरे पनि भयो । त्यसको सटिक उदाहरण खोज्न अन्त कतै जानु पर्दैन, ओली नै पर्याप्त छन् । उनले आफूले अँगालेको कम्युनिस्ट विचार र सिद्धान्तको फेद–टुप्पो अझै पत्ता लगाउन नसकेको तथ्य, त्यसका लागि अहिले पनि अँध्यारो कोठामा कालो बिरालो खोज्न भौतारिइरहेको यथार्थबाट पुष्टि हुन्छ ।
उनका ती अभिव्यक्तिबाट ‘एकादेशमा कुनै एक ठाउँमा एउटा ठूलो पोखरी छ, त्यसका बीचमा रहेको अग्लो फट्टिकको खम्बाभित्र कम्युनिस्ट विचारको प्राण अडेको छ, जसले एकै मुड्किले खम्बा चकनाचुर पार्न र त्यसबाट उडेर निक्लने तीन अरिंगलमध्ये दोस्रो अरिंगललाई मुठ्ठीभित्रै माडेर स्वाहा पार्न सक्छ, त्यसले मात्र त्यसको चुरो बुझ्न सक्छ भन्ने दन्त्यकथालाई चरितार्थ गरेर देखाउन सक्छ । ओलीले कम्युनिस्ट विचारको साधना गरेर प्रजातन्त्रको उल्टो व्याख्या गर्ने जुन चेष्टा गरेका छन्, त्यसबाट उनमा राजनीतिक नैतिकता, चरित्र र संस्कारको विकास हुन नसकेको मात्र होइन, जनताका प्रतिको उत्तरदायित्वको बोध पनि भइनसकेको तथ्य उद्घाटित हुनु दुर्भाग्यपूर्ण हो ।
स्वधर्मम् निधनं श्रेय, परोधर्मो भयावह ! त्यसै भनिएको होइन ।
प्रतिक्रिया