खाना पकाउने (एलपी) ग्यासका कारण दुर्घटना बढ्न थालेपछि आम उपभोक्तामा त्रास थपिएको छ । ग्यासकै कारण आगलागी, विस्फोट तथा मानिसको ज्यान नै जाने घटना बारम्बार दोहोरिरहेका छन् । पछिल्लो पटक नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीको बुद्धनगरस्थित निवासमा ग्यास चुहिएर भएको आगलागीमा परी सांसद भण्डारी सिकिस्त छन् भने उनकी आमा हरिकलाको निधन भएको छ । सिकिस्त अवस्थामा अस्पताल पुर्याइएकी हरिकलाको उपचारकै क्रममा निधन भएको हो भने सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । सांसद भण्डारीको निवासमा भएको यो घटनाले सबै वर्गका उपभोक्तालाई त्रसित बनाएको छ ।
ग्यास लिक भएर भएको यो घटना नै पहिलो होइन । नेपाल प्रहरीको तथ्यांकलाई हेर्ने हो भने पछिल्ला तीन वर्षमा ५० भन्दा बढी यस्ता घटना भएका छन्, जसमा १० जनाले ज्यान गुमाएका छन्, ५० जना भन्दा बढी घाइते भएका छन् । बारम्बार भइरहने यस्ता घटनाले हामीलाई अत्यावश्यक खानेप काउने ग्यास नै जोखिमको कारण त होइन भन्ने प्रश्न उब्जिएको छ । तर कतिपय घटना भने असावधानी र प्रयोगका लागि आवश्यक ज्ञानको अभावले भएका छन् । सहरदेखि गाउँसम्मै फैलिएको ग्यासको प्रयोगका बारेमा अहिलेसम्म कसैले पनि उपभोक्तालाई जानकारी गराएको पाइँदैन । ग्यास लीक भएर वा सिलिन्डर पड्केर दुर्घटनाहरू निम्तिएकै कारण त्यसको सुरक्षित प्रयोगबारे उपभोक्तालाई जानकारी गराउन आवश्यक देखिएको छ ।
नेपालमा बिक्री भइरहेका ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको सुरक्षाबारे पनि प्रश्न उठ्ने गरेको छ । यस्ता घटना न्यूनीकरणका लागि ग्यासको सुरक्षित प्रयोग तथा सिलिन्डर, रेगुलेटर, भल्भ तथा पाइपको गुणस्तरबारे उद्योग, वितरक, उपभोक्ता र नियामक निकाय सबै सचेत हुनुपर्ने आवश्यकता धेरैले औँल्याएका छन् । त्यसका लागि सरकारी निकाय तथा उद्योगहरुले प्रयोगका बारेमा उपभोक्तालाई बुझ्नेगरी जानकारी गराउनुपर्ने देखिन्छ । उपभोक्ताले ग्यास सिलिन्डर किन्दा नै सिलिन्डरको सील कस्तो छ भनेर चेक गर्नुपर्छ । किन्ने बेलामा पनि मिति गुज्रिएको सिलिन्डर छ कि भनेर हेर्नुपर्छ । सिलिन्डर कुच्चिएको छ कि भनेर पनि हेर्नुपर्ने हुन्छ । नेपालमा बिक्री भइरहेका सिलिन्डरको माथिल्लो समाउने भागमा भित्रपट्टि मिति लेखिएको हुन्छ । अंग्रेजी मिति अनुसार महिना र वर्ष उल्लेख गरिएको त्यस्तो मिति हेरर मात्र ग्यास किन्नुपर्ने विज्ञहरूको सुझाव छ । किन्ने बेलामा अपनाउनु पर्ने सावधानीसँगै त्यसलाई घरसम्म पु¥याउँदा पनि ख्याल गर्नुपर्छ । सिलिण्डर गुडाउने तथा घोप्ट्याउने गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसो गर्नै हुँदैन । ग्यास सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिह्न हेरेर मात्र किन्नुपर्ने हुन्छ ।
सिलिण्डरदेखि उपकरणसम्म सबै ठीक भए पनि ग्यास प्रयोग गर्दा सावधानी नअपनाए दुर्घटना हुन सक्छ । ग्यास लिक भएको छ वा छैन भनेर निश्चित गरेर मात्रै चुलो बाल्नुपर्ने विज्ञहरुको सुझाव छ । पहिले रेगुलेटर बन्द गरेर मात्र चुह्लो बन्द गर्नुपर्ने, झ्यालढोका खुला राखेर ग्यास बाल्नुपर्ने, ग्यास चुह्लोको बर्नर सफा राख्नुपर्ने, कम्तीमा हरेक दुई-दुई वर्षमा रेगुलेटर र पाइप फेर्नुपर्छ । यी कुरामा सतर्कता अपनाएमा दुर्घटनाबाट जोगिन सकिन्छ । सबै सतर्कता अपनाउँदा अपनाउँदै पनि ग्यास लिक भएको अवस्थामा बिजुलीको स्वीच अन वा अफ गर्नु हुँदैन । बिजुलीको स्वीच अन अफ गर्दा पनि ग्यासमा आगो लाग्न सक्छ र त्यसले जलाउन सक्छ ।
सिलिण्डर र उपकरणको गुणस्तर तथा प्रयोगका बारेमा उपभोक्तालाई बारम्बार जानकारी गराउनुपर्ने भए पनि ग्यास उद्योगी तथा सरकारी निकायले यसबारेमा पटक्कै ध्यान दिएका छैनन् । सरकारले ग्यास सिलिण्डर तथा उद्योगहरुको नियमन नै गर्दैन भने कुन गुणस्तरको सिलिण्डर उपभोक्ताको घर घरमा पुगेको छ भनेर समेत सरकार अनभिज्ञ छ ।
प्रतिक्रिया