देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाशिवरात्रि मेलाको तयारी पूरा

देशान्तर

काठमाडौँ– पशुपती क्षेत्रमा लाग्ने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । शनिबार परेको महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन ।

भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसंगम जेठाराले जानकारी दिए ।

यो वर्ष जगन्नाथपुरीस्थित गोवर्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हंसमण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिएको कोषका कोषध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ ।

सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ। पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ ।