देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीसँग मागे स्रोतसाधन र कर्मचारी

देशान्तर

काठमाडौँ–  सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आयोगमा स्रोतसाधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्त रूपमा प्रधानमन्त्री दाहाललाई भेट गरेका हुन् ।

भेटमा आयोगका अध्यक्षहरूले आ–आफ्नो आयोगमा भएका समस्या प्रधानमन्त्रीसमक्ष राखेका छन् । भेटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोतसाधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको विषय प्रधानमन्त्रीसमक्ष राखेको बताए ।

उनले आयोगहरूमा स्रोतसाधन र कर्मचारीको दरबन्दी थप गर्न माग गरिएको जानकारी दिए । ‘समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरू गठन गरिएको छ त्यसका लागि पर्याप्त स्रोतसाधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने, तर त्यो एकदमै न्यून भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्या प्रधानमन्त्रीसमक्ष राख्यौँ, ‘ उनले भने ।

आयोगका अध्यक्षसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरूलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिबद्धता गरेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताए ।