काठमाडौँ– यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि ४ जनालाई पक्राउ गरिएको थियो । योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।
यसअघि बुधबार काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न ४ जना र प्रहरीको गाडी आगजनीमा संलग्न ६ जना गरी १० जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । बाँकी १५ जनालाई उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
अनुसन्धान कार्यालयले पक्राउ गरेका १५ जना ल्होत्से मलमा तोडफोड र लुटपाटमा संलग्न रहेका मुख्य व्यक्ति हुन् । उनीहरुलाई भिडिओका आधारमा पहिचान गरेर पक्राउ गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए ।
पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि भएको उनले बताए ।
बुधबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि बालाजु वृत्त र महाराजगन्ज वृत्तमा पठाइएको छ ।
प्रतिक्रिया