काठमाडौँ– मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी रु ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् रु पाँच करोड ४२ लाख ५८ हजार तीन सय बराबरको प्रतिशेयर रु एक सय दरका पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता शेयर आयोजना पीडित क्षेत्र सङ्खुवासभावासीका लागि निष्कासन गर्न लागेको हो । त्यसमा पनि अति पीडित सङ्खुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र त्यसबाहेक सङ्खुवासभाका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ ।
त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार पाँच सय १७ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन ।
जसमा आयोजना पीडित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ९ गते हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया