काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डपछिको नेता को ? भन्ने प्रश्नमा बहस भइरहेका बेला पछिल्लो पटक अध्यक्ष प्रचण्डले थप गरेको पदाधिकारी संख्या र निर्धारण गरेका वरीयताले माओवादी भविष्यमा कसको नेतृत्वमा जाँदै छ भन्ने संकेत गरेको छ । मोहन वैद्य र बाबुराम भट्टराईले पार्टी छाडेपछि दाहालको उत्तराधिकारी को हुने भन्ने पेचिलो प्रश्नको जवाफ दाहालले दुई दिनअघि गरेको पदाधिकारीको मनोनयनले संकेत गरेको छ । दाहालले उपाध्यक्षमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई मनोनीत गरेपछि अब उनले आफूभन्दा पछि सापकोटालाई ल्याउन चाहन्छन् भन्ने स्पष्ट संकेत देखिएको छ ।
नेकपा माओवादी शान्ति प्रक्रियामा आएदेखि नै दाहालले सापकोटालाई काखी च्याँप्दै आएको विषय नौलो भने होइन । वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठसँगको बदलामा दाहालले सापकोटालाई नेतृत्वमा स्थापित गराउन चाहन्छन् भन्ने कुरा उनले यसअघि नै पटकपटक संकेत गरिरहेका थिए । अहिले सभामुखबाट अवकाश लिएर बसेका उनै सापकोटालाई केन्द्रीय सदस्यदेखि उपाध्यक्षमा मनोनीत गरेर दाहालले पार्टी पंक्तिमा त्यसको गतिलो संकेत दिएका छन् ।
सभामुख बनेपछि सापकोटाले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए । गत वर्ष भएको महाधिवेशनमा पनि उनी सहभागी भएनन् । केन्द्रीय सदस्यसमेत नरहेका सापकोटालाई दाहालले कुनै न कुनै जिम्मेवारी दिएर अगाडि बढाउने योजना बनाइरहेका थिए । माओवादीले राष्ट्रपति पाएमा सापकोटालाई नै अघि सार्ने उनको योजना थियो । तर, नपाउने संकेत देखेपछि दाहालले आफूभन्दा पछि पार्टीको जिम्मेवारी सम्हाल्ने गरी उनै सापकोटालाई पदाधिकारीमा प्रवेश दिएका छन् ।
दाहालले अन्तिम पटक प्रधानमन्त्री भएको र पार्टीको नेतृत्व पनि यो नै अन्तिम भएको बताउँदै आएका छन् । दाहालभन्दा पछि पाटीको नेतृत्वको कसले सम्हाल्ने भन्ने अन्योल छ । वरिष्ठ उपाध्यक्ष रहे पनि नारायणकाजी श्रेष्ठलाई माओवादी नै नमान्ने समूह बलियो छ । अर्का उपाध्यक्ष कृष्णबहादुर महरा नैतिकरूपमा पार्टीको नेतृत्व सम्हाल्ने अवस्थामा छैनन् । यी सबै कुरालाई ध्यानमा राख्दै दाहालले श्रेष्ठ र महरापछिको वरीयतामा सापकोटालाई उपाध्यक्षमा भित्र्याएका छन् । दाहालले आफूले सरकार र सापकोटाले पार्टी सञ्चालन गर्ने योजना बनाएका छन् ।
नवनियुक्त उपाध्यक्ष सापकोटा अध्यक्ष दाहालका सबैभन्दा भरपर्दा समर्थक मानिन्छन् । दाहालको योजनाअनुुसार काम गर्ने नेताका रूपमा पनि उनी परिचित छन् । सापकोटालाई उपाध्यक्षमा मनोनीत गरेपछि माओवादीका अन्य नेताले पनि अब दाहालले सापकोटालाई नै पार्टीको नेतृत्वमा स्थापित गराउन खोजेको संकेत पाएका छन् । पार्टी लाइनमा दाहालसँगै भएर पनि उपमहासचिवमा रहेका जनार्दन शर्मा र वर्षमान पुनसमेत पछिल्लो निर्णयबाट हच्किएका छन् ।
फरक नाम फरक चिह्न
आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूल हिस्सा ठान्ने नेकपा माओवादी केन्द्रले पार्टीको नामबाट कम्युनिस्ट र माओवादी भन्ने शब्दावली हटाउने भएको छ । पूर्वउपाध्यक्ष बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीसँग एकताको अन्तिम तयारीमा जुटिरहेका बेला माअोवादीले पार्टीको नाम नै परिवर्तन गर्ने तयारी गरेको हो ।
बाबुरामकै सल्लाहमा पार्टीलाई नेपालीकरण गर्न खोजिएको हो । सम्भवतः पार्टीको नाम नेपाल समाजवादी केन्द्र बनाइनेछ । बाबुरामको सुझावअनुसार पार्टीको नाम परिवर्तन गर्ने तयारी गरिए पनि नाम र चुनाव चिह्नको भने टुंगो लागिसकेको छैन ।
नाम र चुनाव चिह्न परिवर्तन गरेपछि बाबुरामसहित माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीसँगको एकीकरण सहज हुने दाहालको बुझाइ छ । तर, माओवादीकै अधिकांश भने पार्टीको नाम र निर्वाचन चिह्न फेर्ने निर्णयप्रति असहमत छन् ।
प्रतिक्रिया