काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताएकी छन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताइन् ।
उनले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याइन् । राष्ट्रपति भण्डारीले भनिन्, “कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ ।” कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले कामका लागि युवा विदेसिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिजर्नाका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले सबैले गुणस्तरीय शिक्षा पाउनुपर्ने जनताको नैसर्गिक अधिकारका लागि गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी पाठ्यक्रम र पठनपाठन पनि आवश्यक रहेकामा जोड दिइन् ।
राष्ट्रपति भण्डारी आर्थिक वृद्धिमा कृषि क्षेत्रलाई बढवा दिनुपर्ने बताइन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबैले ध्यान दिनुपर्ने बताउँदै अहिलेको प्रयासले हरेक नागरिकको आकांक्षा पूरा गर्न हाम्रा प्रयासहरुले सार्थकता पाएको छ त ? भन्दै प्रश्नसमेत गरिन् ।
उनले अर्थतन्त्रको सुदृढिकरणमा गम्भीर पाइला चाल्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले औपचारिक अर्थतन्त्रलाई संस्थागत गर्न वित्त नीति निर्देशित गर्नुपर्ने बताउँदै सबै प्रकारका आर्थिक क्रियाकलापलाई संसथागत रुपमा आबद्ध गर्दै राजश्व चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिएकी छन् ।
प्रतिक्रिया