काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको मंगलबार सौराहमा उद्घाटन गर्दै कोइरालाले अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी गरे ।
कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए । उनले कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि स्पष्ट पारे । उनले कांग्रेस ’गभर्नमेन्ट इन वेटिङ’ हो भन्ने बुझ्न सत्तापक्षका दलहरुलाई आग्रह गरे ।
कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको अभिव्यक्तिमाथिसमेत टिप्पणी गरेका छन् । कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा उभिएको शक्ति भएको उल्लेख गर्दै उनले लामिछानेले यसविरुद्ध धावा बोलेको तर्क गरे ।
त्यसैगरी कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयको धज्जी उडाएकोसमेत आरोप लगाए । आइतवारको संसदमा ओलीले रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रश्न गरेका थिए ।
प्रतिक्रिया