देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्मम समीक्षा गरेर अघि बढ्छौं: रास्वपा नेता झा

देशान्तर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनीष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एक छिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताए ।

नेता झाले भने, “पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौँ । हामी सबै ठक ठाउँमै छौँ ।”  पार्टी अध्यक्ष रवि लामिछानेले समसामयिक विषयमा दिएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यबद्धता र पूर्ण समर्थन रहेको उनको भनाइ छ ।

सांसद झाले राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको बताए । मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधान पालना गराउनेजस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वाभाविक भए पनि कुनै व्यक्ति र दलविशेषलाई निसाना बनाउन खोज्नु हुन्न भन्ने रास्वपाको मत रहेको उनले उल्लेख गरे ।

अनुसन्धानकर्ता समेत रहेका झाले भने, “सात महिनाको अवधिमा जुन क्षमता, दक्षता, रणनीति लिएर राष्ट्रिय दलको भूमिकामा पुगिएको छ, अबको गन्तव्य भनेको बाचापत्रमा लेखिएका विषय संगठनलाई बलियो बनाएर कार्यान्वयनमा लगिनेछ ।”

युवा पुस्ताले राजनीतिक दललाई कसरी सञ्चालन गर्न सक्छन् भनी उदाहरण प्रस्तुत गर्ने अठोट व्यक्त गर्दै उनले भने, “पछिल्लो पत्रकार सम्मेलन अर्काे कार्यदिशामा हिँड्नका लागि टर्निङ प्वाइन्ट हो ।” रासस