काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने बताएका छन् । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताए ।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गरे । सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको स्पष्ट पारे ।
‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने, ‘अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछानेसँँग) फेरि भेटेर कुरा गर्छु ।’
रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको बताए । उनले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ। बिहान उहाँसँग (रवि लामिछानेसँग) भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं ।’
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहज भएको आफूले अनुभूत गरेको उनले बताए ।
प्रतिक्रिया