देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए माओवादीले विचार मिल्नेसँग सहकार्य गर्ने

संगठन सुदृढीकरण अभियान चलाउने

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र त्यसो हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपतिको चुनावसम्म जाँदा माओवादी सकेसम्म सहमतिकै पक्षमा उभिने छ ।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको सचिव देवेन्द्र पौडेलले बताए । यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको उनले बताए ।

यसैबीच, माओवादी केन्द्रले दुई महिने अभियान चलाउने भएको छ । पार्टीको आज बसेको स्थायी समिति बैठकले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरू बस्ने र रिपोर्ट तयार गर्ने बैठकले निर्णय गरेको छ । चुनावको विषयमा पनि समीक्षा गर्ने बारे ठाउँठाउँमा अन्तर्घात भएकाले जनताकोमा गएर रिपोर्ट तयार गर्ने पनि बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

फिल्डबाट तयार भएका रिपोर्टहरू केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने र त्यसअनुसार नै पार्टी अघि बढ्ने प्रवक्ता महराको भनाई छ ।
माघको २६ गतेदेखि ५ गते भित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने निर्णय भएको छ ।