नेपालका कम्युनिस्टका कुनै पनि समूहका नेताले बिनासंकोच तर निर्लज्ज तरिकाले प्रदर्शन गर्ने पाखण्डमध्ये एक हो, लोकतन्त्रको व्याख्याको धृष्टता । बगरेले अहिंसाको वकालत गर्नु र कम्युनिस्टहरूले प्रजातन्त्र र बहुदलको परिभाषा लगाउनु हात्तीछाप चप्पल नै हो । कम्युनिस्ट पार्टीका आलाकाँचा नेताले त त्यस्तो मूर्खता प्रदर्शन गर्ने गरेकै थिए, अब त्यो पंक्तिमा केपी शर्मा ओली पनि सामेल भएका छन् । हालै मात्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित उनको दलको स्कूलिङको एउटा कार्यक्रममा उनले भनेका छन्– विचार र सिद्धान्त नभएका दलको कुनै काम छैन । तिनले आफ्नो दोकान बन्द गरिदिए हुन्छ ।
स्याल कराउनु र कुखुरा हराउनु एकसाथ पर्न पुग्यो । त्यो भनेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेर सांसद पद खारेज गर्नु र त्यसको केही दिनअघि मात्र ओलीको त्यो अभिव्यक्ति आएकाले कागतालीको अर्को उखानसँग पनि ठ्याक्कै मिल्न पुग्यो ।
त्यो नितान्त संयोग मात्र पनि हुन सक्छ । किनभने नेपाली राजनीतिमा ओलीको पहिचान नै उखानटुक्का मिलाएर श्रोता हँसाउने नेताको श्रेणीमा पर्दछ । उनलाई त्यस्तो आरोप र आक्षेप लाग्ने थिएन, यदि एमालेका नेता तथा कार्यकर्ताहरूले मुलुकको राजनीतिको इपिसेन्टर, बालुवाटारबाट आजकल बालकोटमा सरेको डंका नपिटेका भए ।
ओलीको बोलीबाट आदेश र निर्देश निःश्रृत हुनु र सर्वोच्च अदालतबाट त्यस्तो फैसला आउनुका पछाडि त्यो कथनले काम गरेको छ, जसमा उनले भनेका थिए, विचार र सिद्धान्त नभएका दलको कुनै खाँचो छैन, तिनलाई बन्द गरिदिए पनि हुन्छ । त्यो आदेशको अक्षरशः पालना भएको देख्नेहरूले आफ्नो आँखा जँचाए हुन्छ । ओलीको इशारा, राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेतिर बिल्कुल थिएन ।
उनले मिसन नभएको पार्टी चलाउनुको कुनै अर्थ नभएको घोषित गर्नुको मतलव स्वतन्त्र पार्टीलाई कति थियो, अनि, कति समाजवादीको दोकान बन्द गर्ने आग्रहमा लक्षित थियो, त्यो स्पष्ट नभए पनि स्वतन्त्र पार्टीमाथि गिरेको बमलाई न्युयोर्कको ट्विनटावरमा भएको अलकायदाको आक्रमणभन्दा कम खतरनाक ठानिएको छैन ।
ओलीबाट एउटा अर्को त्यस्तै दूरगामी महत्वको राजनीतिक भविष्यवाणी भएको छ । त्यो के भने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुनैपर्छ र हुन्छ पनि । तर त्यसको स्वरूप अनिवार्य रूपमा यस्तो हुनुपर्छ कि एमालेबाहेक अर्को उम्मेदवार नजितोस् । एमाले, जसको उनी अध्यक्ष छन् र स्टालिनभन्दा कम शक्तिशाली छैनन्, त्यसले जसलाई उम्मेदवार खडा गर्छ, त्यही एकताको प्रतीक हुन्छ र त्यसलाई जिताउनु नै राष्ट्रिय सहमति हो । त्यसैमा सबैको प्रतिबद्धता र कटिबद्धता हुनुपर्छ । त्यही लोकतन्त्रको सच्चा धर्म हो ।
ओलीका त्यस्ता उदात्त अभिव्यक्तिलाई फ्रान्सका चौधौं लुईको “राज्य भनेको मै हुँ” भन्ने चरम निरंकुशतावादी दम्भसँग तुलना गर्नेहरू घोर प्रतिक्रियावादी हुन् । लोकतन्त्रको प्रगतिशील गत्यात्मकता नबुझ्ने मूढ हुन् । नेपोलियन, फ्रान्सका सर्वशक्तिमान सम्राट् बनेका थिए, बन्दुकको तागतबाट । तर उनले सत्ता र शक्ति आर्जनको स्रोत बन्दुक भए पनि एक दिन त्यस्तो समय आउनेछ, जसमा तोप र संगीनबाट होइन, आत्मा र कलमबाट सत्ता प्राप्त हुनेछ, भन्नु परेको थियो ।
हिजोआज राजनीतिमा सफलताको कुँजी कस्तो हुनुपर्छ भन्ने सवालको जवाफ आउने गर्छ– केपी ओली र रवि लामिछानेजस्तो । विचार र सिद्धान्तप्रतिको निष्ठा र समर्पणबाट होइन, भाषणकलाको उत्कृष्टताबाट उठेको उनीहरूको व्यक्तित्व, धेरैका लागि ईष्र्यालाग्दो छ । दुवैले समृद्ध नेपाल र सुखी नेपालीका बारेमा यत्ति भाषण गरिसकेका छन् कि त्यसमा पुष्पकमल दाहाल पनि फिक्का पर्न पुगेका छन् । रवि लामिछानेको अमेरिकाबाट नेपाल अवतरण हुनुअघिसम्म जादुगरी भाषणमा ओली र दाहालकै प्रतिस्पर्धा थियो । रविले दाहालको छवि छायामा पु¥याइदिए । ओभरटेक गरेर ओलीको समकक्षमा पुगे ।
ओली, माधव नेपाल र रवि लामिछानेको मिसन र गन्तव्य के हो, देश र जनतालाई उनीहरूले दिने के हो भन्ने प्रश्न गरिरहेका छन् । उत्तर कतैबाट आइरहेको छैन । सबै नाजवाफ छन् । किनभने कसैले उनीसँग ओलीको मिसन र गन्तव्य कुन हो भन्ने प्रश्न सशक्त ढंगले उठाउने गरेका छैनन् । उनको समृद्धिको मिसनको मोडेल कुन हो ? अमेरिका कि चीन ? त्यसको उत्तरबाट प्रष्ट हुनेछ, उनको गन्तव्य अमेरिकी प्रजातन्त्र हो कि चीनको जस्तो एकदलीय कम्युनिस्ट अधिनायकवाद ? व्यवहारमा त उनीहरू चीनको नाम लिने र भारतको चाकरी गर्ने दोगलापनको सटिक उदाहरण बन्न पुगेका छन् ।
रवि लामिछानेको स्वतन्त्र पार्टीको विचार र सिद्धान्त नभएको ओलीको गम्भीर आरोप बिनाकारण अवश्य होइन । उनको पार्टीको लक्ष्य, वर्तमान अवस्थाको परिवर्तन हो भन्ने अस्पष्ट तथा ओलीकै जस्तो गोलमटोल जवाफबाहेक ठोस विचार दुवैसँग छैन । किनभने दुवै प्रतिक्रियावादी हुन् । उनीहरूको उठान र बैठानको जग नै प्रजातन्त्रको प्रतिक्रियामा आधारित छ । ओलीको कम्युनिस्ट मोडेल जसरी प्रष्ट छैन, त्यसैगरी रवि लामिछानेको परिवर्तनको रटानको पनि कुनै प्रष्ट धारणा र साङ्गोपाङ्ग तस्बिर छैन । विचार र सिद्धान्त स्पष्ट नभएपछि दिशाबोध हुने प्रश्न उठ्दैन । दिशाबोध नै छैन भने गन्तव्यमा पुग्ने कुरा पनि भएन ।
तिनै कारणले उदार प्रजातन्त्रको आदर्श अपनाएको नेपाली कांग्रेसलाई आँखा चिम्लेर सराप्न पनि नछाड्ने र नाकको चालले उसैलाई पछ्याउन पनि नछाड्न अभीशप्त छन्– उनीहरू । आफ्नो घर पनि नबनाउने र अर्कालाई पनि बनाउन नदिने जातका प्राणीजस्ता उनीहरूलाई जुन रोगले गाँजेको छ, त्यसैले देशलाई अघि बढ्नबाट पनि रोकेको छ । खाँटी कुरा त्यही हो ।
प्रतिक्रिया