काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् । सोमवार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सहिदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरु अमर र अजर रहने बताए ।
उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि सहिदहरु प्रेरणाको श्रोत भएको बताए । उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सिमित नभइ सहिदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए । आजको दिन सहिदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताए ।
उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छाँै । यसको पछाडि महान सहिदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ । देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरु अमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् । अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र जनताको सेवामा समर्पित हुनको लागि एउटा प्रेरणाको श्रोतको रुपमा भुमिका खेलिरहेका हुन्छौँ । माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्र्छौं । स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान सहिदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो । म यही संकल्पको निम्ति सबैसँग अपिल गर्दछु ।’
प्रधानमन्त्री दाहालले आज माघ १६ गते सहिद दिवसको अवसरमा सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरुको शालिकमा माल्यार्पण समेत गरेका थिए ।
प्रतिक्रिया