काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेन्डरअनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएको हो ।
उनले लुम्बिनी जस्तो पवित्र स्थलको काम इमान्दारिताका गर्न आग्रह गरे । मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए ।
उनले नेपालको संविधान कानुनअनुसार संरचनाहरू निर्माण भएको भन्दै संरचनाहरूमा कर्मचारी भएर पनि काम किन नभएकोरु भन्दै प्रश्न गरे । उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेन्डरअनुसार सात दिन,एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए ।
गौतम बुद्धको जन्मथलो लुम्बिनी मागि खाने भाँडो नभएर बौद्ध धर्मावलम्बीहरूको नाभी तथा ढुकढुकी भएको उनको भनाइ छ । मन्त्री किराँतीले कर्मचारीहरूलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे ।
उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए ।
प्रतिक्रिया