देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगरले हटायो मापदण्ड विपरीतका ९ हजार ‘साइन बोर्ड’

देशान्तर

काठमाडौँ – महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी (साइन बोर्ड) हटाएको छ ।

मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो ।

गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।

तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्ते लेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने महानगरले जनाएको छ ।

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो ।

१५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका परिचय पाटीको प्रतिवर्ग फुट १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्छ।