शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी आज वसन्तपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।
सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो ।
वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।
वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहनेछ । वसन्त श्रवणको सबै तयारी पूरा भएको छ ।
यसैविच वसन्त पञ्चमीको अवसरमा तराईका विभिन्न जिल्ला तथा मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएका छन् ।
किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गर्ने गर्छन । गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर पूजागर्ने गरिन्छ ।
किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोत्नेछन् । आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन रहेको छ ।
यसैविच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य विशिष्ट ब्यक्तिहरुले समेत वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ ।
राष्ट्रपति भण्डारीले यस दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो भन्दै यस पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया