देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचनः तीन जनाको उम्मेद्वारी दर्ता

देशान्तर

काठमाडौं – लुम्बिनीमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौंदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेका केन्द्रीय सदस्य दसौंदीले गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको प्रस्तावक र प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठको समर्थनमा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसबाट रोल्पाका पूर्व जिल्ला सभापतिसमेत रहेका आचार्यको प्रस्तावकमा दाङको बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी रहेका छन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य धर्मराज चौधरीको प्रस्तावक र प्रदेशसभा सदस्य राजकुमार चौधरीको समर्थनमा रायले उम्मेदवादवारी दर्ता गराएका छन् ।

एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।