काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलवार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गरेका छन् । मंगलवार संसद भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका आचार्यका परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुगेका उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताए ।
उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनशायबाट आएको बताए । उनले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता जनाए । उनले आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए ।
मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन् । उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन् । उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताइन् ।
गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षिय आचार्यको बुधवार बिहान उपचारका क्रममा निधन भएको थियो ।
प्रतिक्रिया