काठमाडौं – प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ । माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित भएका थिए भने माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भएकी थिइन् ।
निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन् । कुनै दलको नेता भएर सभामुखले काम गरेका छन्, भन्नेजस्ता विगतमा लाग्ने गरेका आरोपहरुबाट टाढा रहने चुनौति अहिलेका सभामुख र उपसभामुखलाई रहेको छ ।
दुवैले पार्टीगत रुपमा टाढा रहेर पार्टीका कुनै क्रियाकलपमा सहभागी नबनी सदनको भुमिका तटस्थ रुपमा नर्वाह गर्ने प्रतिवद्धता जनाइसकेका छन् । यसको परीक्षा आगामी दिनमा हुँदै जाने नै छ । सभामुखले संसदको नेता (सभामुख) को रुपमा तटस्थ भुमिका भुमिका निर्वाह गर्नुपर्छ ।
आफ्नो भुमिका कुनै दलगत नभइ सभामुखको रुपमा रहने सभामुख घिमिरेले बताइसकेका छन् । उनले नयाँ दल र नयाँ नेताहरु भएपनि दलगत प्रणालीबाटै आएकाले आधारभुत रुपबाट खासै फरक नरहेको बताए । सभामुखको आगामी काम, कर्तव्य र संसदमा आफ्नो भुमिकाबारे सभामुख घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ ।
अहिलेको समयानुकुल आँखाले हेर्दा प्रतिनिधि सभालाई कसरी हेर्नुभएको छ र कसरी बुझ्नुभएको छ ?
प्रतिनिधि सभा स्वभाविक रुपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरुको सभा हो । अथवा जनताको सार्वभौम सत्ता प्रयोग हुने थलो हो । जसरी आएको छ, हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरुसहितको आएको छ । र संख्याको हिसावले अलि ठूलो संख्यामा आएको छ । अनुभवको हिसावले पनि अलि नयाँनयाँ पार्टी, नयाँनयाँ नेताहरु आउँदा त्यो खालको अनुभव भन्दा बाहिरका अनुभवहरुसहित आउनुभएको छ । त्यो बाहेक एउटा प्रणालीबाट आउनुभएको छ । पार्टीबाट आउनुभएको छ र दलगत प्रणालीमा आउनुभएको दलको हिसावबाटै चल्नुहुन्छ । चल्नुपर्छ । त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वभाविक हो । तर आधारभुत रुपबाट त्यस्तो खास फरक छैन । त्यस्तो नयाँ मैले महशुस गरेको छैन ।
परम्परागत रुपमा रहेका राजनीतिक शक्ति र उनीहरुको प्रतिष्पर्धीका रुपमा आएका शक्तिहरु बीचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ, तपाई सभाको रेफ्रीको भुमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ ?
एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ । खेलका नियमहरु भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतीसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुराहरु हुन्छ । त्यो दिशामा सबै माननीयज्युहरुहरुले भुमिका निर्वाह गर्नुहुन्छ र आइपरेका चुनौतिहरु भनेको जिम्मेवार नेताहरुको थलो भएको हुनाले, जिम्मेवार पार्टीहरु त्यहाँ भएको हुँदाखेरी जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतिहरुलाई समाधान गर्न सकिन्छ । गर्नुहुन्छ । त्यो सहयोग मैले पाउँछु भन्ने मेरो बलियो आत्मविश्वास रहेको छ ।
अहिलेको संसद त्रिशंकु अनि सरकार पनि, सरकार आफू बलियो भइराख्न संसदको सबैभन्दा बढी साहारा खोज्ने गर्छ, यस्तो बेलामा तपाई निरपेक्ष तटस्थ हुने की सापेक्ष सहयोगी हुने ?
राजनीतिले नै सबै कुराको छिनोफानो गर्छ । यो राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो । त्यसलाई निकास दिनकै लागि तदनुकुलकै यसका व्यवस्थाहरु गरेका हुन्छन् । भन्नाले ऐन पनि तदनुकुल बनेको हुन्छ । नियमावली पनि तदनुकुल बनेको हुन्छ । निस्कर्ष पनि तदनुकुल नै निस्किन्छ । त्यही दिशाबाट जाँदा संसदको स्वरुप सरकारमा हुनु स्वभाविक छ । सरकार संसदमाथि निर्भर हुनुपनि स्वभाविक छ । तर त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु ।
संसदभित्र सांसदहरुको प्रश्तुति, भाषा, शैली खस्किँदै गएको भन्ने गरिन्छ, संसदको गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ ?
यसलाई फर्काउने र धेरै अगाडी बढीसकेको वा हिजो यस्तो चाहीँ बेठिक थियो भनेर धेरै टिप्पणी गर्ने भन्दापनि ठिक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ । त्यो सोच्नको लागि मुलतः जिम्मेवार राजनीतिक पार्टीहरु र निर्वाचित भएर आउनुभएका आम सांसदहरु हामी कुन ठाउँमा छौँ ? हाम्रो गरिमा के हो ? हाम्रो महत्व के हो ? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ ? मान्न योग्यहरुले गर्ने व्यवहारहरु के हुन्छन् ? तरिकाहरु के हुन्छन् ? प्रणालीहरु के हुन्छन् ? भन्ने कुरामा काहीँ कतै कमजोरीहरु विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भिर बनाउनुपर्छ । र गम्भिर बनाउने मामिलामा सबैको दायित्व छ । मैले एउटा जिम्मेवारीमा बसेर यो भावनाका साथ काम गर्छु भन्ने सञ्चारको हिसावले भन्ने हो भनेदेखि यहाँहरुको पनि त्यो दिशामा सहयोग हुँदै आएको छ र अरु बढी सहयोगको जरुरी पनि पर्नसक्छ भन्ने मलाई लाग्छ ।
संघीय संसद विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरुको एजेण्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ, यी अवाञ्छित क्रियाकलापहरुबारे तपाईको बुझाई के छ ?
यहाँले जुन तहमा भन्नुभयो अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन ।
संसदीय गतिविधिलाई बाहिर लैजान नियमित रुपमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुको अहम् भुमिका हुन्छ, पत्रकारहरुमार्फत संसदका विषयवस्तुहरुको सही सम्प्रेषणका लागि कस्तो भुमिका हुन्छ ?
विगतबाट शिक्षा लिनु नै पर्छ । विगतमा त्यस्ता नकारात्मक शिक्षाहरु केही छन्, त्यस्ता केही घटनाहरु छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिना पूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भुमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने । पक्ष, विपक्ष भएर आएको छ भने दुइवटै पक्षहरु यसमा जिम्मेवार भएर अगाडी बढेर राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा सबै पक्ष त्यसमा पनि यहाँले भनेजस्तो छ भने त्यो दुईवटा पक्षका बीचमा मिलाएर जानुपर्छ । यो महत्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ ।
प्रतिक्रिया