काठमाडौं – संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारबिरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदै माग पूरा गर्न माग गर्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन भएको छ । काठमाडौंको माईतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै विरोध भएको छ ।
मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षिय आचार्यको बुधवार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारबिरुद्ध प्रदर्शन गरेका हुन् । विभिन्न व्यवसाय गर्नखोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइट नोट’ लेख्नुभएको थियो । प्रदर्शनमा उत्रिएकी एक आन्दोलनकारीले मतदाताहरुले नयाँ शक्तिको रुपमा सत्तामा पु¥याएकाहरुले यो अवस्थाको सिर्जना गर्नहरुलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताए ।
उनले बैंकहरुले उद्योगीहरुलाई दिने लोनहरुमा सहुलियत दिनुको ठाउँमा उल्टै कमिसन खाने जस्ता कुराहरुले उद्योगी, व्यवसायीहरु झनै पीडामा परेको बताए । उनले गृहमन्त्री रवि लामिछानेले माफी मागेर मात्रै घटना नसकिने भन्दै यो अवस्थामा लैजान प्रेरित गर्ने सबैलाई कारबाही गर्नसकेमात्र मृतकप्रति न्याय हुने बताए।
उनको आत्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने प्रदर्शनकारीको माग छ।
देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएको हो।
प्रतिक्रिया