देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अपहरणपछि हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

देशान्तर

काठमाडौं – जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् ।मृतकका आफन्त र स्थानीय बासिन्दाले आफूले मृत्यु हुनुभन्दा पहिला नै प्रहरीलाई खबर गरे पनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् ।

१४ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगर-८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ निवासी २२ वर्षीय विष्णु साहको अपहरणपछि भारतमा हत्या भएको थियो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने नातेदारका घर गएका वेला अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । फिरौतीको रकम बढाउँदै गएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

त्यसपछि भारतीय सीमा गाउँमा उनीहरू दुवैको हत्या भएको थियो। गत सोमवारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरूले प्रहरीमा खबर गरेका थिए । मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिए पनि प्रहरीले नै चासो नदिएको आरोप लगाए । उनले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताए ।

विरोध प्रदर्शनमा उनीहरूले मृतकलाई न्याय दे, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।

उनले प्रहरीले पीडित पक्षले कुनै रिपोर्ट नगरेका कारण खोज्न गाह्रो भयो भनेर ढाँटेको बताए । उनले अपहरणकारीले पठाएको रेकर्ड अडियो हरेक पटक प्रहरीलाई दिएको बताए ।