देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय भुमिकालाई प्रभावकारी बनाउन अनुभवको आदानप्रदान हुनुपर्छः सभामुख

देशान्तर

काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका छन् । सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका हुन् ।

उनले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अफ्ठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ति कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताए । उनले ऐन कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताए । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उनले बताए ।

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गरे । उनले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताए । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उनको भनाई छ ।

सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरुलाई पनि समावेश गराउन आग्रह गरे । उनले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरुले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पु-याउने बताए ।

संयोजक शाहीले सभामुखले संसदको गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताए । उनले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा वहश र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गरे ।

वागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरुले गरेका कामको समिक्षा हुनुपर्ने बताए । उनले प्रदेशमा बन्न बाँकी रहेका कानूनहरु बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताए । उनले आगामी दिनमा छलफलहरु गर्दा आफूहरुलाई पनि समावेश गराउन र अनुभवहरुको आदानप्रदान गर्न अनुरोध गरे ।