देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

'राष्ट्रपतिको निर्वाचन आलटाल गरेर पछाडि धकेल्न हुँदैन'

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरुसँग छलफल थाल्ने निर्णय पनि गरेको छ । “नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भयो,” कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले भने, “उम्मेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उमेदवारी भने दिन्छौँ ।”

यस्तै काँग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने बताएको छ । बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो । डा. कोइरालाले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’

राष्ट्रपतिको निर्वाचन आलटाल गरेर पछाडि धकेल्न नहुने कांग्रेसको जोड छ ।