२०६६ सालको अन्त्यतिरको कुरा हो । एक दिन रेडियो सगरमाथाको लाइब्रेरीमा सहकर्मी विक्रम तिमिल्सिनासँग गफिँदै थिए एक जना व्यक्ति । म समाचार सकेर लाइब्रेरी छिरें । परिचय गराएँ । विक्रमजीले मलाई गीतकारको रूपमा र उनलाई गायकको रूपमा चिनाएका थिए । मैले उन्का गीत बारबार बजाएको थिए ‘लुकाउन खोज्दा पनि’ र ‘उन्को खुसीमा आज’ नाम भन्नासाथ चिनिहालेँ तिलकसिंह पेला । उनी सुदूरपश्चिमका म मध्यपश्चिम भूगोलले पनि जोड्ने कोसिस गरें । सँगै त्यो समयमा मेरो गीत तिम्ले पराइ ठाने पछि चर्चामा रहेकोले उनले पनि गीत सुनेको राम्रो लागेको भनेर बधाई दिए ।
मैले उनका चर्चित दुई गीत बजाइरहेको र मन परेको बताएँ । मौका मिले सहकार्य गर्ने हाम्रो सहमति पनि भयो । त्यसपछि म आफ्नो कर्ममा लागे । गायक पेलासँग त्यसपछि दोहोरो कुराकानी, भेटघाट १३ वर्षसम्म भएन । उनी संगीत प्रशिक्षणमा छन् भन्ने चाहिँ थाहा थियो । तर काठमाडौंमा कुन ठाउँलाई स्थायी बनाए भन्ने मैले खोजिनँ । उनले मलाई खोज्नुपर्ने कारण र प्रसंग पनि जुरेन ।
केही दिनअघि मेरा अर्का मित्र प्रकाश धितालले एउटा गीतको लिंक इनबक्स गरेर भने यो गीत सुन्नुभयो क्या गज्जब छ । मैले सुन्दै नसुनी उनका दुई गीतको लिंक पठाएर भने पेलाका प्रायः गीत राम्रा छन् । सामाजिक सञ्जालमा के लत बस्योको चर्चा अधिक भएपछि बल्ल मैले लिंक खोलेर सुनें । सुन्दै गएँ, दोहो¥याएर सुने अनि मुखबाट फुत्त निस्कियो वाह गजल त यस्तो पो हुनुपर्छ । मैले हत्तपत्त साथीहरूलाई आफ्नो गीतको लिंकबाहेक अरूको गीतको लिंक पठाउदिनँ । तर यो गजल मैले केही नजिकका संगीतकर्मीहरूलाई इनबक्स गर्दै भने गजल गजलकै रूपमा आएछ मज्जा आयो सुन्नु भो ? मैले हेर्दा ८९ हजार भ्युज पाएको यो गजलले अहिले दुई मिलियन नजिकको उकालो लाग्दै छ । न खर्चिलो भिडियो छ न तामझाम । अडियो बलियो हुँदा त्यसमाथि मालकोस रागको यो गजल साझा बनेको छ । तिलकमान सिंह पेलालाई फेरि २०५३ सालको क्यासेटको जमानाको गीतले दिएको परिचयमा अब्बल साधकको रूपमा पुनःस्र्थापित गरेको छ । सुगम संगीतका अनुरागीलाई फेरि गम्भीर गीतगजलको सिर्जना र साधनामा फर्किन प्रेरित गरेको छ । देशान्तरसँगको कुराकानीमा पेलाले भने चर्चाका लागि दौडिने मेरो स्वभाव हैन साधनामै रमाउँछु । अहिले गजल चल्यो तपाईंहरूले खोज्नु भो खुसी लाको छ । उनले अघि थपे गजल नियममा बसेर लेख्नुपर्ने र गाउनुपर्ने विधा हो । मैले त्यही नियम फलो गरेको हुँ । धेरै केही गरेको हैन । आफैं गाउने भन्ने भएपछि चुनौती थियो । परीक्षा दिए, उत्तीर्ण भएकी जस्तो लागेको थियो । बैतडीबाट आफ्ना दाजु कृष्णसिंह पेलाको साथमा काठमाडौं हानिएका पेलाले १७ वर्षमै गायनमा सफलताको स्वाद चाखिसकेका थिए ।
तिलकले आधुनिक गीत गाउँलान् भन्ने त्यतिबेला रेकर्डिङ स्टुडियोका कसैलाई पत्यार थिएन । किनकि उनी सुदूरपश्चिमका थिए ।
२०३२ सालमा बैतडीको दशरथचन्द नगरपालिका–७ कुरालामा जन्मेका पेला कक्षा १० सम्म पढ्दा भलिबल खेलाडीका रूपमा चिनिन्थे । गाउँमा रामलीला हुन्थ्यो । शास्त्रीय संगीत गुञ्जिने गथ्र्याे । रामलीला हेर्दा र सुन्दा आधुनिक र शास्त्रीय संगीतप्रति उनको लगाव बढेको हो । २०५३ सालको अन्त्यतिर ‘आँसु’ एल्बम निकालेका पेलाले आँँसु भाग–१ र भाग–२ को कलेक्सन निकाले । ‘उनको खुसीमा’ बोलको गजल गाएपछि भने पेला संगीत सिक्न र सिकाउनमा केन्द्रित भए ।
धनबहादुर गोपाली र पण्डित देवाशिष देलाई संगीत गुरु थापेका पेला भन्छन्— ‘अहिले पनि सिक्दै छु । साधनामै छु । सिक्नु छ अझै ।’ सिक्ने कुरा कहिल्यै पूरा नहुने उनको बुझाइ छ । श्री कृष्ण गुरुकुल संगीत पाठशालामा अहिले उनले शास्त्रीय संगीतको क्लास दिने गर्छन् ।
संगीतलाई अनुशासित विधा ठान्ने पेलाले
शास्त्रीय संगीतलाई मानिसहरूले रमाइलो विषयको रूपमा लिने गरेको तर यो पढ्नैपर्ने अनिवार्य विषय भएको बताउँछन् । यसले सस्तो लोकप्रियता दिने हैन साधक बनाउने र आफैं चिनाउने उनको बुझाइ छ ।
प्रतिक्रिया