देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

के यो नियतिकै खेल हो त ?


लेख्न त म कुनै मनोरञ्जनात्मक कुरा नै लेख्न चाहन्थेँ, न मनले मान्यो न कलमले मान्यो । माघेसंक्रान्तिको दिन । चारैतिर माघस्थान देवघाट र घरघरमा तिलको लड्डु घ्यू–चाकु र खिचडी तरुल आदि उसिनेर खानलाई कोही तयार बसेका थिए, कतिले खाई पनि सकेका थिए । ‘माघी’ पर्व भनेर देशमा ठूलो चाड मनाइन्छ । बिदा पनि दिइन्छ ।

यस्तै बीचमा बिहान ११ बजेतिर एउटा खबरको प्रसारण भयो, जसले सारा देशलाई झसंग तुल्याइदियो, त्यो दिनलाई शोकमय बनाइदियो । काठमाडौंबाट पोखरातर्फ उडेको यती एयर लाइन्सको एक विमान दुर्घटनाग्रस्त भयो ।
त्यसै खबरले मलाई एकाएक यो स्तम्भको ‘रुट’ बदलिन लगायो । मन साँच्चिकै दुःखी छ । ७२ जना यात्रु लिएर उठेको जहाज झ्याम्म सेतीको कुनै खोंचमा खसेर हुर्हुरी बल्न थाल्यो । हामीले बलेको दृश्य देख्यौं, त्यसअघि विमान उडिरहेको पनि टीभीमा देखाइएको थियो ।

७२ जनामा कोही पनि जीवित हुने कुनै सम्भावना भएन अब । मैले थाहा पाएसम्म ७१ शव फेला परिसकेका छन् । अब ७२ औं पनि घाइते नै फेला परे पनि उपचार हुन्थ्यो… ।

ती यात्रीहरूमा, डाक्टर पनि थिए, कलाकार पनि थिए । देशले प्रतिभाहरू गुमायो, तिनको ज्यानका साथ, अरू पनि जो त्यसमा परे अन्य प्रतिभा वा सम्भावनाका धनी थिए । तीमध्ये कति आफ्ना विभिन्न सफलतामा दंग पनि होलान् कोही अहिले अलि ठीकै भयो, अर्काे पटक कसो नहोला भन्थे भन्ने आँट लिएर उडिरहेका होलान् । जीवनमा सफलताको आँट उड्दाखेरि र उडिरहँदा सबैमा उज्यालोपन होला । हाँसखेल गरिरहेका होलान् । घर पुगेर माघेसंक्रान्ति मनाउँला भन्ने पनि होला । कोही पोखराको रम्यस्थल सम्झेर रमाइहेका होलान् । पोखराबाट अन्त जाने अथवा दुई दिनपछि फर्र्कनेहरू आआफ्ना योजना बनाइरहेका होलान् । कोही पोखरा पुग्नासाथ, कहाँकहाँ फोन गर्ने भनेर डायरी पल्टाइरहेका होलान् । यी सब ४५ मिनेटभित्र । कारण कसैको मुखमा पनि उत्साह, उत्सुकता र भविष्यको झलकबाहेक त्यसबखत केही अन्य कुराको लेख पनि नहोला । केही विदेशी नागरिक पनि थिए । त्यस जहाजमा । नेपाली र विदेशी नाबालिग र शिशुहरू पनि थिए । नाबालिग र शिशुहरूको त अहिले पनि जीवनको थालनी नै थियो । तिनले त जीवनलाई के हो भनेर थाहा पाएका पनि थिएनन् । अझ शिशुहरूले त जीवन मृत्यु दुर्घटना भन्ने पनि बुझेका थिएनन् । त्यस्ता शिशुले पनि तिनैलाई एक पटक भोगे । भोगेमात्र अनुभव गर्न पाएनन् ।

अन्तिमअन्तिम क्षणमा आमाबाबुको अनुहारमा जुन भय प्राप्त भयो होला, तिनले आफ्ना बालक शिशुहरूलाई जरुरी अंकमाल गरे होलान्, तिनले आफ्ना बालक शिशुहरूलाई जसरी अंकमाल गरे होलान्, तिनका लागि रोए होलान्, त्यो तिनले राम्ररी बुझ्न नपाउँदै… सब समाप्त !! प्रत्येक दुर्घटना एक विडम्वना हो । कसैको दोष हुँदैन, दण्ड तै पनि पाउँछन् । भूपीको एक कविताको भाव सम्झिरहेछु, एउटा बालक एकाबिहानै सडकमा ट्रकले किचिएर मर्छ । हात हेर्दा त्यसको आयु–रेखा लामो थियो । ती सब आयु रेखा लिएरै जन्मेका यात्रु हुन् । तर तिनको आयु प्राविधिक वा मानवीय वा मौसम वा दुर्भाग्यले छोट्याइदियो । अत्यन्त दुःखद् अत्यन्त तर्कहीन तरिकाले त्यो दिनदेखि म अहिलेसम्म तिनका लागि दुःखी छु अपरिचितको दुःख हो । तर मानवीय दुःख हो । मर्ने मान्छे नै हुन्छ, दुःखी हुने मान्छे नै हुन्छे, तिनका परिवारजन । कति त एयरपोर्टमा लिन स्वागत गर्न अंकमाल गरेर आनन्दित हुन आएका होलान् । तिनलाई सम्झेर पनि दुःख लाग्छ । यस्तो बेलामा, मृत्युवरण गर्र्नै पनि दोषी भए पनि मृत्युको सहभागिता झेल्नै पर्छ । तिनका आफन्त त भने कति गम्भीर र आन्तरिक दुःखले पिल्सिए होलान् । म यी अक्षरहरूमार्फत, ती सारा यात्रु, बालक, शिशुहरू र तिनका आफन्तहरूप्रति गहिरो संवेदना प्रकट गर्दछु । मेरो मनमा अहिले त्यही छ, यद्यपि मलाई थाहा छ, त्यत्रो दुःखका अघिल्तिर मेरो जत्रोसुकै संवेदना पनि निरीह र सानो हुन्छ तर योबाहेक मान्छेको अरु के गर्न सक्छ ।

नेपालमा हवाई उडान जत्तिकै नभए पनि लगभग त्यतिकै पुरानो छ हवाई दुर्घटना पनि । भनिन्छ, अस्तिको दुर्घटना पचासौं हो, नेपालको हवाई दुर्घटनाको इतिहासमा । अस्ति एक विज्ञले टीभीमा राम्रोसँग बुझाएका थिए मौसमलाई दोष दिनु व्यर्थ छ । मौसम त लखेटेर आउने होइन नि ? योतर्फ मलाई ठीक लाग्यो । अनुमान त हामीले लगाउने हो । यो दुर्घटनाबारे नाना तर्कहरू कोहीकोही मोबाइलका कारण पनि भन्छन् तर कोही विज्ञ भन्दछन् । त्यति शक्तिशाली मोबाइल अहिले नेपालमा भित्रिएकै छैन । पाइलटको असावधानी पनि भन्छन् । तर ज्यानै जाने गरी त कुन पाइलट असावधान होला । एकजनाको पाइलटको पूर्ण पाइटल बन्ने समय थियो रे । त्यसैले घण्टा पूरा गर्न वा ज्ञान पूरा गर्न उनै उडाइरहेकी थिइन् रे त्यसैले तर उक्त विज्ञका अनुसार त्यो पनि सम्भव छैन । त्यो अवस्थामा क्याप्टेनले, कोपाइलटले, क्याप्टेनको सिटमा बसाएर आफू कोपाइलटको सिटमा बसेर निर्देशन दिइरहेको हुन्छ । हो यदि को पाइलटलाई चला, सानो दूरी छ भनेर क्याप्टेन अखबार पढेर बसिरह्यो भने, गल्ती हुन सक्छ । त्यस्तो एक पटक भएको थियो रे नि त ? गल्ती हुन सक्छ कुनै । टु अर इज ह्युमन भन्दछन् नि, तर ज्यान उनीहरूको पनि हो । त्यसकारण, गल्ती हुन सक्छ, तर हेलचेक्र्याइँ गर्दैनन् । आफ्नै ज्यानको कुरा पनि हुन्छ । अन्त्यमा घुमीफिरी यही भन्छन् कतिजना सब नियतिको खेल हो … ।

दुर्घटनालाई नजिकबाट भने मैले पनि देखेको छु, सुनेको छु । एक पटक सिमराबाट उडेको एउटा प्लेन दुर्घटनाग्रस्त भयो । त्यसमा वीरगन्जका कति मेरा परिचित पनि थिए । दुःख त लाग्ने भयो । तर, दुःखसाथै भय पनि व्याप्त भयो । एरिस्टोटलले भय र करुणाबाट त्रासदी उत्पन्न हुन्छ, भनेका हुन् । त्यसदिन त्यस्तै अवस्था थियो । करुणा मृतकहरूप्रति भय वा त्रास किन ? त्यसदिन शानेवानि, डकोटाको तेस्रो फ्लाइट पनि थियो । सिमराको पाठकहरू अनुमान गर्न सक्नुहुन्छ, एउटा जहाज त्यही रुटमा दुर्घटनाग्रस्त भएको छ । अहिले पूरा थाहा पनि भएको छैन त्यसबारे त्यसैको अर्काे विमान एक घण्टापछिको दोस्रो फ्लाइटलाई तयार छ । दोस्रो फ्लाइट यात्रुको मनस्थिति कस्तो होला ? हवाईजहाज त यात्रुको मुखमै उडिरहेको थियो, भयको । सबै आत्तिएका थिए । कोही अन्योलमा थिए । कोहीले टिकट फिर्ता गरे । केहीले भोलि, पर्सि पल्टलाई बुक गरी केही यीमध्ये केही पनि मर्न पाएनन् । ती थर्कमान भएर जहाजमा चढी त्यसबखत २० मिनेट जतिको फ्लाइट सबै रामनाम जपेरै बसे होलान् । यसको प्रत्यक्ष वर्णन म किन गरिरहेको छु भने सेकेन्ड फ्लाइटको यात्रुहरूमा म पनि थिएँ । मेरो मनस्थिति कस्तो थियो होला, पाठककै अनुमानमा छाड्छु ।