देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘फेससेभिङ’को लागि कांग्रेसको प्रयास

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख र उपसभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर सभामुख र उपसभामुख पाउने नेपाली कांग्रेसका नेताहरूले अपेक्षा गरेको थियो । तर, सभामुख र उपसभामुख दुवै पद कांग्रेसले गुमाइसकेको छ । कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै उक्त पार्टीका नेताहरूले संशय व्यक्त गर्दै आएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले एमाले आशंकालाई बल पुग्ने गरी आफू सहमतिमै राष्ट्रपति चयनको पक्षमा रहेको बताएका छन् । तर, माओवादी अध्यक्ष दाहाल कांग्रेसलाई रोज्ने कि एमालेलाई बोक्ने भन्ने दुविधामा देखिएका छन् ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादी समर्थन खोजेको छ । माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले बागमतीसहितका केही प्रदेशका मुख्यमन्त्री (माओवादीका) लाई पनि विश्वासको मत दिएको छ । मधेस प्रदेशमा पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनका सबै पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् । दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेलामै माओवादीले कांग्रेसलाई राष्ट्रपति दिने समझदारी भएको नेताहरूले बताउँदै आएका छन् । कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुअघि एमाले र माओवादीबीच राष्ट्रपति एमालेले पाउने समझदारी भएको थियो । एमालेसँग उक्त समझदारी भएको स्वीकार गर्दै दाहालले प्रधानमन्त्रीमा विपक्षी कांग्रेसले पनि विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै राष्ट्रिय समझदारीको पक्षमा आफूलाई उभ्याएका छन् । त्यसले एमालेलाई झस्काएको छ । दाहाल साढे दुई वर्षपछि मुलुकका सबै राजकीय पद एमालेको हातमा पुग्दा परिस्थिति जटिल बन्न सक्ने विश्लेषणमा पुगेको निकट एक नेताको दाबी छ ।

प्रधानमन्त्री पद माओवादीले जुनसुकै बेला पनि गुमाउन सक्ने र साढे दुई वर्षपछि राष्ट्रपति, प्रधानमन्त्रीमात्र होइन, सर्वोच्च अदालतका प्रधानन्यायाधीशका साथै अधिकांश संवैधानिक अंगका प्रमुख एमालेप्रति सहानुभूति राख्ने हुनुको साथै सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि आफ्नै पक्षका हुँदा एमालेले जे गर्न खोज्यो त्यही हुने अवस्था आउन सक्नेछ । त्यसलाई चिर्न एमाले र कांग्रेस दुवैसँगको सम्बन्धलाई समदूरीमा राख्नेगरी माओवादीले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई माओवादीले अघि सार्न सक्ने बताइएको छ ।

एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिन चाहेको छ । संविधानले दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति राष्ट्रपति हुन नपाउने भने पनि भण्डारी नयाँ संविधानको व्यवस्थाअनुसार एकपटक मात्र राष्ट्रपतिको जिम्मेवारीमा पुगेको एमाले नेताहरूको बुझाइ छ । एमाले सांसद सुवास नेम्बाङले पनि राष्ट्रपतिमा चाहना देखाएका छन् । तर उनलाई वर्तमान राष्ट्रपतिले नै सहयोग नगर्ने एमालेका नेता बताउँछन् । राष्ट्रपतिमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, डोरमणि पौडेल मात्र होइन, उपमहासचिव विष्णु रिमालसहितका नेताहरूको नाम पनि चर्चामा छ ।
प्रधानमन्त्रीमा एमालेको समर्थन लिने क्रममा दाहालले सभामुख र प्रधानमन्त्री आलोपालोमा गर्ने र राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन गर्ने समझदारी गरेका थिए । तर, कांग्रेससमेतले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको दाहालले बताउँदै आएका छन् । वर्तमान गठबन्धन टुटे वा दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु अघि माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गरेमा उसले नेता रामचन्द्र पौडेललाई अघि सार्न सक्ने अनुमान गरिएको छ । तर, कांग्रेसभित्र पनि राष्ट्रपतिमा कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठसहितका आकांक्षी छन् । चुनावअघिको गठबन्धन जोगाउन असफल कांग्रेसले विश्वासको मत प्रचण्डलाई दिएर यदि राष्ट्रपति प्राप्त गर्न सकेमा यसलाई पार्टीको ‘फेससेभिङ’ रूपमा बुझ्न सकिनेछ ।