देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।  शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु,’ उनले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने उद्देश्यले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’

राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको छ । अहिले दैनिक केन्द्रमा चारदेखि आठजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । यस्तै, दैनिक डेढ सयभन्दा बढी डायलाइसिस हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।