देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु

देशान्तर

काठमाडौँ – हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ ।

राजधानी कीभ बाहिर एउटा नर्सरी नजिकै हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्री डेनिस मोनास्टिरस्कीलगायत गृह मन्त्रालयका उच्च अधिकारी र दुई बालबालिकासहित १६ जनाको मृत्यु भएको राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले जानकारी दिए ।

कीभ क्षेत्रको ब्रोभरी नजिकै दुर्घटना भएपछि आपतकालीन सेवाहरूले बालबालिका र कर्मचारीहरूलाई उद्धार गर्ने काम गरिरहेको अलजजिराले जनाएको छ ।

घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको जनाइएको छ । दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण आउन सकेको छैन ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले विवादास्पद अभिव्यक्ति दिएपछि राजीनामा दिएका छन् । सल्लाहकार ओलेक्सी अरेस्टोभिचले डिनिप्रोको एउटा भवनमा खसालेको रुसी क्षेप्यास्त्रलाई किभले खसालेको भन्दै ४४ जनाको मृत्यु भएको खबर दिएपछि राजीनामा दिन बाध्य भएका हुन् ।

उनले पछि माफी मागे र आफूले गल्ति गरेको समेत बताए। तर उनको टिप्पणीले देशमा व्यापक विरोध भएपछि उनले पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरेस्टोभिचको राजीनामाको निर्णयबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन ।

रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको बताइएको छ ।