बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिनुहुने भएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिनुहुने भएको हो ।
मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे छलफलका लागि आज दिउँसो १२ः३० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्रीले जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनु भएको छ । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्मकट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हाल्नु भएको थियो ।
११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थन रहेको छ । नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन गरेका छन् । ३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नेमकिपाले भने प्रतिपक्षमा वसेको छ ।
यसैविच मधेस प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तयार भएको छ ।
गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनु भएको थियो । यादवलाई ७२ जना सांसदको समर्थन छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएको छ । मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र एकीकृत समाजवादीका ७ सांसद मुख्यमन्त्रीको विपक्षमा देखिएका छन् ।
उता लुम्बिनी प्रदेशमा उपसभामुखका लागि निर्वाचन हुँदै
लुम्बिनी प्रदेशमा उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती हिजोनै निर्विरोध हुनु भएको छ ।उपसभामुखका लागि आज हुने चुनावका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
सत्ता गठबन्धनले उपसभामुखमा राप्रपाका केसीलाई समर्थन गर्ने निर्णय गरे पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवार सारेको छ । गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमति भएको थियो । नागरिक उन्मुक्तिले प्रदेश सरकारमा कम्तीमा दुई मन्त्रालयमा दावी गर्दै आएको छ ।
गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४ तथा जसपा, लोसपा र जनमतका ३(३ प्रदेश सभा सदस्य छन् । दुई स्वतन्त्र सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि तेस्रो पटक चुनाव हुँदै
सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज तेस्रो पटक चुनाव हुँदैछ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको छैन् ।
गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एकएक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।
३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा आज फेरि तेस्रो पटक निर्वाचन हुदैँछ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिनु भएको छ । धनगढी पुगेर अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिनु भएको हो ।।
प्रतिक्रिया