प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै छ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनु भएका प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत पाइसक्नु भएको छ ।
संसदको विश्वासको मत पाउँदा संसदको ठूलो दल नेपाली कांग्रेस पनि प्रचण्डको पक्षमा रहेपछि आसन्न नयाँ राजनीतिक समिकरणका लागि भन्दै प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो ।
कांग्रेसले सरकारमा नजाने प्रष्ट पारे पनि संसदको सभामुख र राष्ट्रपतिको विषयमा भने चासो राख्दै आएको छ ।
सत्ता साझेदारदलहरुसँगको सहमति अनुसार आज प्रचण्डले सर्वदलीय बैठक बोलाएको र उक्त बैठकमा नेपाली कांग्रेस सहभागी हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
उहाँले नेपाली कांग्रेस संसदको प्रतिपक्षी भएको बताउनुहुँदै अहिलेको अवस्थामा सभामुख र राष्ट्रपतिको विषयमा आफूहरुको चासो रहेको उल्लेख गर्नुभयो ।
उहाँले सभामुख र राष्ट्रपति पद दलीय भन्दा पनि सर्वमान्य पद भएकाले यसमा कांग्रेसले चासो राख्नु स्वभाविक भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसलाई सभामुख वा राष्ट्रपतिमा एडजस्ट गर्नुपर्ने धारणा आफू निकटहरुसँग राखेको स्रोतले बताएको छ ।
तर, प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको एमालेले यी दुवै पद आफूसँग राख्न चाहन्छ ।
यदि प्रचण्डले आजको सर्वदलीय बैठकमा सभामुख र राष्ट्रपति मध्य एउटा पद कांग्रेसलाई दिने प्रस्ताव गर्दा नेपाली राजनीतिमा नयाँ कोर्ष सुरुहुन सक्ने विश्लेषण पनि गरिएको छ ।
सर्वदलीय बैठक दिउँसो ४ बजेका लागि डाकिएको छ । त्यसअघि आजै प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
सवै दलबाट मन्त्री बन्नेहरुको नामावली प्राप्त भएमा दिउँसो १ बजे शीतल निवासमा मन्त्रीहरुले सपथ लिने छन् ।
प्रतिक्रिया