देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद् विस्तार आज

देशान्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

सत्ता गठबन्धन दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि हिजो साँझ मन्त्रालय बाडफाड रसहमति जुटेको थियो ।

दलका नेताहरूले सत्ता साझेदार दलका बैठकमा भएका सहमति आज आ–आफ्ना पार्टीभित्र आज छलफल गरेपछि दिउसो मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको छ । आज दिउँसो मन्त्रिपरिषद विस्तार संगै सपथग्रहण हुने कार्यकतालिका रहेको छ ।

दलका शीर्ष नेताहरूले आफ्नो पार्टीलाई परेको भागका आधारमा मन्त्रीको नाम दिएपछि ती नाम राष्ट्रपति कार्यालय पठाइनेछ । मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने कार्यक्रम छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० मा ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । पुस ११ मा प्रचण्डले ८ मन्त्रीसहित शपथ लिएका थिए । मन्त्री भएकामध्ये केहीलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन् । बाँकी १७ मन्त्रालय प्रधानमन्त्री आफैंले हेर्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीसँग पटकपटक भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायत विषयमा कुराकानी गरेका थिए । गत पुस २६ मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपालगायत दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। यसपछि मन्त्रिपरिषद विस्तारमा झन् अन्यौलता सिर्जना हुँदै आएको छ ।

तर हिजो भएको सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटाएको छ भने मन्त्रालय कसले कुन लिने भन्ने पनि टुंगो लगाएको छ । एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीले कुन–कुन मन्त्रालय लिने भन्ने भागबन्डा मिलेको हो । लोसपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन् ।

एमालेले ८, माओवादीले ४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले ३ र जनमत पार्टीले एक मन्त्री पाउने गरी भागबन्डा गरिएको छ । साथै रास्वपा र राप्रपाले एक–एक राज्यमन्त्री पाउने सहमति भएको छ ।

गृहमन्त्री रवि लामिछानेका अनुसार जसपालाई समझदारीमा ल्याउन र अन्यलाई समेट्न केही संख्या हेरफेर हुनसक्ने देखिएको छ । आज दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ कार्यक्रम तय भएको छ ।

सहमति अनुसार एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य, कृषि, भूमि व्यवस्था, महिला बालबालिका र उद्योग मन्त्रालय लिने समझदारी बनेको छ। एमालेले दाबी गरेका केही मन्त्रालयमा अन्य दलले पनि दाबी गरेका कारण हेरफेर हुन सक्ने देखिएको छ । एमालेले यसअघि अर्थ मन्त्रालय लिइसकेको छ ।

माओवादीले सञ्चार, भूमि व्यवस्था, स्वास्थ्य, खेलकुद मन्त्रालय लिने छ । राप्रपाले ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाउने छ । उपप्रधानसहित ऊर्जा मन्त्रीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गर्ने तयारि गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा र श्रम मन्त्रालय पाएको छ। यसअघि उक्त पार्टीले उपप्रधानसहित गृहमन्त्री पाएको थियो । सत्ता साझेदार दलका एक नेताका अनुसार राष्ट्रपति र सभामुख एमालेले लिनेबारे पनि छलफल भएको छ । जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ। उपराष्ट्रपति र उपसभामुख कुन–कुन पार्टीले लिने भन्नेबारे सहमति भएको छै्न् । सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले राष्ट्रपति लिने कोसिस गरिरहेको छ ।