काठमाडौं- नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन् ।
उनले आईतवार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको बताए । प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरु किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताए । उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने बताए ।
उनले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने बताए । प्रवक्ता महतले सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता मुखले नभइ कामबाट नै गर्ने कुरामा सरकार र सम्बन्धित निकाय लाग्नुपर्ने बताए ।
प्रतिक्रिया