काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ ।
प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनैपनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरुलाई नबोल्न निर्देशन दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताएका हुन् । उनले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यक्ता नरहेको बताए । उनले जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउने बताए।
प्रवक्ता निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ती र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचारहरु बाहेक अरुलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरुलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरु जानकारीमा राख्न आग्रह गरे।
उनले सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पार्नुभयो । उनले सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको नभएको बताए।
आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।
७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजि कार्य जारी रहेको छ । मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ । गर्नेछ ।
प्रतिक्रिया