काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नलास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताइन् ।
“समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ, यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो”, उनले भनिन् । आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुनसक्ने उनको धारणा थियो ।
राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युत्लाई नेपालकोे आर्थिक विकासको मेरुदण्डका रुपमा लिन सकिने बताइन् । उनले भनिन्, “हामीले प्रकृतिलाई अझ सिंगारेर विकासका कार्य अगाडि बढाउनुपर्छ ।”
राष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवद्र्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्नसकिने बताइन् ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रुपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाई दिँदै उनले प्रकृति र संस्कृतिको अतुलनीय सङ्गम बनेको नेपाललाई अनेकन तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने बताइन् ।
“प्राचीन सभ्यता र सनातन भूमिका रुपमा परिचित यस धर्तीमा भगवान् बुद्धको जन्मस्थान लुम्बिनी देशविदेशमा निकै चर्चित बनेको छ, त्यसैले समृद्ध इतिहास र परम्पराको जीवन्त पक्षलाई संरक्षण गरी समयानुकूल भावि पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ”, उनले भनिन् ।
प्रतिक्रिया