काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । बिहीबार बिहान चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो ।
बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।
यसअघि, गत पुस २४ गते कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा अन्दाजी १८ वर्षको एक पोथी गैंडा मृत भेटिएको थियो ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा ८ वटा गैंडा मृत भेटिएका छन् ।
यसैगरी, निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगर क्षेत्रमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । निकुञ्जको नियमित गस्ती टोलिले बुधवार दिउँसो मृत बाघ फेला पारेको हो ।
प्रतिक्रिया