देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि सभाको पहिलो बैठक आज बस्ने

देशान्तर

नयाँ संसदको पहिलो बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो १ बजे बस्ने भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गर्नु भएको छ ।

संसद बैठक ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले सञ्चालन गर्नुहुने छ। सभामुख चयन नहुँदासम्म जबराले नै संसद बैठक संञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

गत मंसिर ४ मा भएको चुनावबाट आएका प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुँदैछन्। संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आज बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

यसैविच पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम तय भएको छ। त्यसबारे आजै संसदलाई ज्येष्ठ सदस्य जबराले जानकारी गराउने कार्यसुचि रहेको छ । प्रतिनिधि सभामा २७५ जना सांसद रहेका छन्।