प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि गद्दारको मात्र होइन, नरसंहारकको आक्षेप अथवा आरोप लगाउने प्रतिक्रियावादी कांग्रेस होइनन्, उनकै सहोदर कम्युनिस्ट क्रान्तिकारी बन्धुबान्धव थिए । उनले पनि कम्युनिस्ट पार्टी फुटाएर एकता केन्द्रको निर्माण गरेपछि त्यसमा अटाउन नआउने अरु कम्युनिस्ट घटकका पुराना नेता तथा कार्यकर्तालाई गद्दारको तक्मा पहिराएकै हुन् । त्यसबेला कांग्रेस समर्थक पत्रपत्रिकाले “दुवैथरी कम्युनिस्ट गद्दारै हुन्” भनेर खुच्चिङ बजाएको पनि कसैले बिर्सेका छैनन् । कांग्रेसका नेता तथा कार्यकर्ताहरू अहिले पनि त्यो प्रसंग चल्यो कि “हो त नि”, भनेर बुर्लुक्क उफ्रन चुक्दैनन् ।
प्रचण्डले एकता केन्द्रबाट फुटेर आफ्नो पार्टीको नाम माओवादी राखेपछि संसदीय व्यवस्था ध्वस्त पारेर नौलो जनवाद स्थापित गर्न कथित् जनयुद्धका नाममा मान्छे मार्न थालेको यथार्थ दोहो¥याउन आवश्यक छैन । १० वर्षसम्म चलेको त्यो हत्या, हिंसा र आतंककाको कालरात्रिमा १७००८ जनाको निर्मम हत्याकाण्ड मच्चाउने प्रचण्डलाई “चण्डाल” भन्ने पनि कम्युनिस्ट नै थिए, अरू थिएनन् । उनीहरूका आधिकारिक दस्तावेज त्यसका साक्षी छन् । कांग्रेसले त उसलाई त्यसै बेला आतंकवादी घोषित गरेको थियो, जुन बेला उसले कांग्रेसका कार्यकर्तालाई छानीछानी मार्न थालेको थियो ।
प्रचण्डलाई नेपालको इतिहासकै सबैभन्दा ठूला नरहत्याराको आरोप सबैतिरबाट लाग्ने गरेको कुराले कति पोल्दो रहेछ, त्यो त उनले ती सबैको होइन, पाँच हजारको मात्र जिम्मा लिन्छु भनेर सकारेका घटनाले पुष्टि भएकै हो । उनको त्यो स्वीकारोक्ति नै उनलाई हेगतिर डो¥याउन काफी छ । उनले सत्ताको केन्द्रमा नभए पनि सेरोफेरोको फन्को छोड्न नचाहेको कारण नै त्यही हेगको भूत हो, जसले उनलाई निद्रामा समेत लघार्ने र तर्साउने गर्दछ । उनको त्यस्तो बर्बराई कसैले बिर्सेका छैनन्, किनभने उनको त्यस्तो बकपत्रलाई सबैले आफ्नो स्मृतिमा मात्र होइन, रेकर्डमा पनि राखेका छन् ।
यथार्थमा त्यस अवधिमा हत्या, हिंसा र आतंकका जति घटना भए, त्यसमा मर्नेको संख्या थियो– १७००८ । त्यो संख्या, नेपाली सेना, प्रहरी अथवा गुप्तचर संस्थाको होइन, बाह्रबुँदे दिल्ली सम्झौतापछि माओवादीसहितको सरकारले खडा गरेको शान्ति मन्त्रालय र राष्ट्रसंघको प्रतिनिधि संस्था– अनमिन पनि सम्मिलित भएर तयार पारेको आधिकारिक अभिलेखमा उल्लेखित छ । संसारभरि जति सशस्त्र संघर्ष भएका छन्, तिनको शान्तिपूर्ण अवतरणका लागि भएका शान्ति सम्झौतामा जुन तथ्य र तथ्यांक सकारिन्छ, त्यसलाई दुवै पक्षले मञ्जुर गर्नु पर्छ । अर्को शब्दमा भन्नुपर्दा जनयुद्धका क्रममा भएका हत्या, हिंसा र आतंकका सबै क्षतिको दायित्व उसले लिनुपर्छ, जसले जनयुद्धको आह्वान गरेको थियो । युगोस्लाभियाबाट सन् १९९२ मा कम्युनिस्ट शासनको अन्त्यपछि त्यो देश– पहिले क्रोएसिया र बोस्निया– हर्जिगोभिनामा विभाजित भएको थियो भने पछि गएर सर्बिया र मोन्टिनिग्रोका रूपमा पनि विभाजित हुन पुग्यो । युगोस्लाभियाका अन्तिम राष्ट्रपति स्लोभादान मिलोसेभिचमाथि सर्वियाको गृहयुद्धकालमा हतियार तथा गोलिगठ्ठा उपलब्ध गराएको आरोपमा नेदरल्यान्डको हेगमा राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा मुद्दामात्र चलेको होइन, उनको उक्साहटमा ४५०० मानिस मारिएको ठहर गरेर मृत्युदण्डको सजाय तोकिन लागेको थियो । सन् २००६ मा बन्दी अवस्थामै उनको हृदयाघातका कारण मृत्यु भएकाले त्यो सजाय उनले झेल्नु परेन ।
त्यही उदाहरणले प्रचण्डलाई बेला न कुबेला लखेटेर झल्याँस्स हेग जानुपर्ने सम्झनाले तर्साउने गर्दछ । त्यसपछि उनी राति मात्र होइन, दिउँसै पनि बर्बराउन थाल्छन् । नत्र एकथरीले हेग पठाउने फाइल तयार गरिसकेको कुरा किन दोहोर्याउँथे ? उनलाई थाहा छ, नेपालमा प्रधानमन्त्री भएको कारणले मानवताका विरोधमा गरेको अपराधलाई हेगले छुट दिँदैन । अब त हेगको लाममा उनका उपप्रधानमन्त्री रवि लामिछाने पनि थपिन पुगेका छन् । त्यसले भने उनलाई ठूलो भरोस पुर्याएको हुनुपर्छ ।
रवि लामिछानेको पनि हेग जाने बाटो खुलिसकेको छ । पहिले त उनीमाथि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको आरोप मात्र लागेको थियो । अहिले त झन् गम्भीर अपराधको आरोप लाग्न पुगेको छ, त्यो हो, आफ्नो अपराधको छानबिन गरिरहेको प्रहरीको हाकिम बनेको घटनाका कारण । उनीमाथि प्रहरी र अदालत दुवैतिर अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिएको छ कि छैन भन्ने छानबिन चलिरहेकै छ । त्यस्ता व्यक्तिको नाममा दल दर्ता गर्दै निर्वाचन आयोगले नागरिकताको सवाल हल गर्नुपथ्र्यो । उसले त्यसो नगरेकाले उम्मेदवार हुन त्यही नजिरले काम गर्यो । नागरिकता र नैतिकता दुवै प्रश्नको जवाफ दिने दायित्व थपिएका बेला प्रचण्ड र ओलीले पनि चोर बाटोबाट उनलाई उम्काउन खोजेको जस्तो गरी झन् खाल्टामा जाक्ने काममा जुटेका देखिएका छन् । नियत कसैको पनि सफा देखिन्न ।
देखियोस् पनि कसरी ? रवि लामिछाने, अमेरिकामा गएर काम गरेर बसेका मात्र थिएनन्, आफ्नो जन्मभूमि नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएका व्यक्ति पनि हुन् । त्यसमा कुनै भ्रम छैन । काम र दामका लागि आमालाई त्याग्न तयार हुने र फेरि यतै मौका देख्नेबित्तिकै हाम्फालेर नेपाल फर्कने व्यक्ति, न राष्ट्रवादी हुन सक्छ, न देशभक्त । त्यस्तालाई चलनचल्तीका भाषामा चरम अवसरवादी भन्छन् । त्यस्ता अवसरवादीको न देश हुन्छ, न धर्म हुन्छ । झन् नैतिकता, चरित्र र संस्कार हुने त प्रश्नै भएन । अमेरिकामात्र होइन, अरु जुनसुकै देश किन नहोस्, जति लामो अवधि त्यहाँ बसे पनि सबैले आफ्नो देशको नागरिकता त्यागेर त्यहाँको नागरिकता ग्रहण गर्नै पर्छ भन्ने हुँदैन । गर्दैनन् पनि । त्यस्ता व्यक्तिले मात्र स्वदेश फर्केपछि नागरिकता लिइरहनु पर्दैन । नागरिकताको मुद्दा छल्न राजनीतिको आड पनि लिनु पर्दैन । मुद्दा हेर्नेलाई तर्साउन पदको दुरुपयोग गर्न पनि पर्दैन । हेगको भूतबाट तर्सिनु पनि पर्दैन ।
त्यसो त पेरुका दुई कार्यकाल निर्वाचित राष्ट्रपति अलबर्टो फुजिमोरीलाई संसद् (कांग्रेसले) “नैतिक दृष्टिले अयोग्य” घोषित गरेर हटाएजस्तै यहाँ पनि पदबाट हटाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
प्रतिक्रिया