देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

देशान्तर

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको शनिबार निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाई म्याण्डेट अनुसार काम गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले तराईको चर्को गर्मीदेखि हिमालको ओलाङचुङगोला र छाङ्गरुको कठ्याङग्रिदो चिसोसँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुत तपाईंहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होइन जीवन कालभरी तपाईंले गरेको सलामको इज्जत राख्ने छु,’ उनले भने ।

जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउँदै उपप्रधान तथा गृहमन्त्री लामिछानेले भने, ‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’
उनले मनमा जहिले पनि हामी थोरै छाँै तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखी सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छा,ै राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडि बढ्नु जरुरी रहेको बताए ।

उनले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने सबैको चाहना रहेको बताए ।

सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरुको मन अमिलो भएको हुन सक्ने र एकै ठाँउमा कार्य गर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भन्दै उनले सरुवा, बढुवालगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताए ।