माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच एकीकरणको प्रक्रिया सुरु भएको छ ।दुवै दलले एकताका लागि वार्ता गर्न समिति गरेका छन् । पार्टि एकतालागि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच छलफल भएपनि अहिले नेकपा एकीकृत समाजवादी र जसपाले मात्र समिति नै बनाएर अगाडि बढेका छन् ।
नेकपा एकीकृत समाजवादीले महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । यी दुई समितिको बीचमा औपचारिक संवाद भने सुरु भएको छैन तर शीर्ष नेताहरूको बीचमा अनौपचारिक संवाद सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए पनि पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सक्नु भएको छैन् । उता, जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव हारे पनि पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सफल हुनु भएको छ । माधवकुमार नेपाललाई राष्ट्रिय पार्टीको नेता बन्न हतार छ भने उपेन्द्र यादवलाई ठुलो पार्टीको नेता बन्न हतार देखिएको छ ।
माधव नेपालसँग संघमा १० जना सांसद छन् भने उपेन्द्र यादवसँग १२ जना सांसद छन् । दुवै दल एकीकृत भएको अवस्थामा २२ जना सांसद हुन्छन् । पार्टी एकता भएमा प्रतिनिधिसभामा शक्तिशाली दलको रूपमा उपस्थित देखाउन पनि दुई पार्टि एकताको प्रकृयामा गएका हुन् ।
सुरुमा नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र वा एमालेसँग एकीकरण गर्ने चाहना राखेको थियो । तर यी दुवै दलसँग कुरा नमिलेपछि माधव नेपालले जसपासँग कुरा अगाडि बढाएको पार्टि नेताहरुले बताएका छन् ।
प्रतिक्रिया