बागमती प्रदेशमा प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचन पुस २८ र २९ गते हुने भएको छ । पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्ने र २९ गते निर्वाचन गर्ने समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ।
यसैगरी, उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । सोही दिनको अपरान्ह ४ बजेभित्र सभामुख र उपसभामुख पदको उम्मेदवार दर्ता गरिएकाको अन्तिम नामावली सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते तोकिएको छ । दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनु भयो ।
बागमती प्रदेश सभामा अहिले नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन् ।
प्रतिक्रिया