काठमाडौँं – २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलमा संकटा फुटबल क्लब फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो ।
संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमा स्टेफनले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।
मेसुकेले ४३ औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । खेलको ६१ औं मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता ३–० को बनाए । ७४ औं मिनेटमा हरिले गोल गर्दै एपीएफलाई ३–१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४–१ को जित दिलाए ।
अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया