काठमाडौं – नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । आर्थिक अनियमिततासँग मुछिएका उपरथी शाहीलाई मंगलबार सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
प्रवक्ता भण्डारीले केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको बताए । उनलाई अनुसन्धान पूरा नभएसम्म सैनिक मुख्यालयमै राखिने छ ।
प्रवक्ता भण्डारीकाअनुसार उपरथी शाही पुस २० गतेबाट नियमित अवकाशमा जाँदै थिए । आफ्नो जन्ममितिमा एक वर्ष उमेर घटाइएको भन्दै उनले गत ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । शाहीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले पुस १३ गते अवकाशमा जाने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
उनले आफ्नो जन्ममिति २०२३ पुस २२ कायम हुनुपर्ने माग गर्दै आइरहेका छन् । सर्वोच्चको आदेशपछि शाहीले थप एक वर्ष जागिर खान सक्थे । तर, जंगी अड्डाले उनलाई आर्थिक अनियमितता सम्बन्धी विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया