काठमाडौं – नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ । टियु मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो ।
खेलाडी र आयोजक बीचको विवादका कारण ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । जसमा काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो ।
विराटनगरका लागि गौरान्शूं शर्मा २२ तथा विवेक यादव १२ रनमा आउट भए । नन्दन यादव ११ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा सुनाम गौतम र अनिल खरेलले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।
काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्लेकले १३ रन बनाए ।
विराटनगरका लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए ।
जितसँगै काठमाडौं ७ खेलमा ४ जित ३ हार पारेको छ । ८ अंक सहित काठमाडौं तेस्रो स्थानमा कायमै रहेको छ । हारसँगै विराटनगर ७ खेलमा ४ अंक हात पारेर अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।
प्रतिक्रिया