काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरूसँग आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले भने, ‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरूबीच छलफल गर्छौँं र हामी एउटा निष्कर्षमा पुगौँला ।’ सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरे ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत उपस्थित थिए ।
बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरूले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया