काठमाडौं – प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ लाई प्रदेशसभाको पहिलो बैठकले पारित गरेको छ । आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेशलाई पारित गरेको हो ।
बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले काम कारवाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको उनले बताए ।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो ।
आइतबारको बैठकले केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पारित गरेको छ । बैठकले प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतलाई पारित गरेको छ ।
प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ ।
प्रतिक्रिया