देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा थप शक्ति सञ्चयको बेला


पछिल्लो समयका राजनीतिक परिदृश्य अनपेक्षित नै हुन् । खासगरी नेपाली कांग्रेसका लागि मात्रै होइन समग्र देशकै लागि यसले प्रभाव पार्छ । गएको निर्वाचनमा नेपाली कांग्रेस संसद्मा सबैभन्दा ठूलो दल बन्यो । यसको नेतृत्वमा सरकार बनेको थियो भने यो एउटा स्वाभाविक प्रकिया हुने थियो । तर संसद्को तेस्रो दलको नेतृत्वमा सरकार बन्यो । संसदीय व्यवस्थामा यस्ता घटना असम्भव नभए पनि सामान्यतया यो राजनीति सहज गन्तव्यतर्फ लागेको देखाउँदैन । बरु अराजकतातर्फको यात्रालाई प्रारम्भ गराएको मानिनु पर्ने हुन्छ । तर कांग्रेसका लागि भने क्षणिक रूपको सत्ता गुमाएको अवस्थामात्रै हो यसले आर्जन गरको शक्ति त यथावत् नै छ । यही बिन्दुबाट कांग्रेस अझ थप शक्ति सञ्चयको यात्रामा लाग्न आवश्यकता छ । यो बेला पनि त्यस्तै हो । यसका लागि तमाम कार्यकर्ताबीच नेतृत्वले आह्वान गर्नुपर्छ आफ्नै खुट्टामा उभिएर देश निर्माणको बाटोमा लाग्ने संकल्प गर्नुपर्छ ।

कांग्रेस ठूलो दल भएर पनि विपक्षमा पुगेको अवस्था सत्य हो । गठबन्धनको मुख्य पात्र नै चिरपरिचित अस्थिर राजनीतिक चरित्रको थियो भन्ने यो घटनाले एकपटक पुनः पुष्टि गरेको छ । तर कांग्रेसले यसलाई अवसरका रूपमा बदल्न सक्नुपर्छ र आफैंबीचमा रहेको व्यक्तिवादी र मनोगत प्रवृत्तिको समूल रूपमा नष्ट गर्दै संगठनलाई ऊर्जायुक्त बनाउने र एकताबद्ध भएर राष्ट्रिय राजनीतिको केन्द्रमा आउनु पर्छ । नेतृत्वको अबको प्रमुख काम भनेको कांग्रेसलाई राष्ट्रिय राजनीतिमा नयाँ भूमिकाका साथ प्रवेश गराउनेतर्फ केन्द्रित रहोस् ।

निश्चय नै कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण आयो तर यो सुनियोजित थिएन । एक, डेढ घण्टाका बीचमा सबै कुरा भएका हुन् । एक केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले एउटा अनुभव सुनाउनु भएको छ । उहाँका अनुसार काठमाडौंबाट पोखरा आइपुग्दा राजनीति क्र्यास भइसकेछ । ‘काठमाडौंबाट पोखरा आइपुग्दा म चढेको जहाज सकुशल ल्यान्ड भयो, काठमाडौंबाट पोखरा आइपुग्दा राजनीति चाहिँ क्र्यास भइसकेछ । काठमाडौंबाट उड्दा पार्टी नेतृत्वको गठबन्धनका शीर्ष नेताहरू बैठक बसिराखेका थिए । सरकार गठनमा आलोपालो नेतृत्वमा सहमति भए पनि कसले पहिला नेतृत्व गर्ने भन्ने रस्साकस्सी चाहिँ चलिराखेको थियो । त्यो रस्साकस्सीले गठबन्धन चुँडिएला भन्ने विश्वास थिएन । गठबन्धन बचाउन गठबन्धनमा आबद्ध नेताहरू इमानदार हुनुपथ्र्यो यो, त्यो देखिएन । यसले नेपाली राजनीतिको कुन हदसम्मको स्खललन भएको देखाउँछ । गठबन्धन बनाएर चुनावमा जाँदाको औचित्य पनि सकिएको छ । राजनीतिमा विचार सिद्धान्त, आदर्श स्खलित बनेको कडी हो यो घटना ।’
विमान चढ्दा राजनीति ठीकठाक नै थियो तर आधाघण्टाको यात्राबाट अवतरण हुँदा यो समाप्त भइसकेको रहेछ भन्ने यो अनुभव रेकर्डमा राख्ने लायक छ । राजनीतिक परिदृश्य यति छिटो बदलिएको सम्भवतः यो पहिलो घटना हुनुपर्छ । यसले कांग्रेसलाई एक्ल्याएको अवस्था त बनायो तर नेपाली राजनीतिको चरित्र पनि उदांगो भएको छ । यस्तो चरित्रमा सुधार गरेर राजनीतिलाई व्यक्तिको स्वार्थसँग जोडेर हुने नहुने जे पनि गर्ने परम्पराको अन्त्य गराउने दायित्व पनि कांग्रेसमा आइपरेको अवस्था छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन थियो यो जो लोकतान्त्रिक–वाम गठबन्धन भनेर परिचित थियो । राष्ट्रपतिसमक्ष सरकार बनाउने दाबी पेस गर्ने अन्तिम घडीमा यो छिन्नभिन्न भयो । यसो हुनुमा कसको कमजोरी हो, कसले कसलाई धोका दियो भन्ने मूल्यांकन होला तर नेपाली राजनीतमा यो धेरै ठूलो गम्भीर कुरा हो । यसमा नेतृत्वको कुरा मात्र होइन जनमत जोडिएर आएको छ ।
यो पटकको स्थानीयदेखिका सबै निर्वाचनमा सँगै र सिट बाँडफाँटसमेत गरेर जनता समक्ष गइएको थियो । गठबन्धन १५ वर्षसम्म कायम रहने बताइने गरिएको पनि त्यसमा नै हो । निर्वाचनमा सँगै गएका दलबीचको भन्दा निर्वाचन लगत्तै सरकार निर्माणका क्रममा भने अर्को गठवन्धन बन्न गयो । यो घटनामा राजनीतिक विश्लेषकहरूले राजनीतिक बेइमानी देख्नु भयो र लेख्नु पनि भयो, संविधानको धारा ७६(२) बमोजिम ‘दुई वा सोभन्दा बढी दल’ को समर्थनमा सरकार बनाउने अंकगणित साना चार दलसहित मूलतः एमाले–माओवादी ६ दलीय गठबन्धनले राष्ट्रपतिलाई बुझायो । सरकार बनाउने अथवा सत्ता गठबन्धन जोगाउने खेलमा मुलुकको राजनीति सम्पूर्णतः सत्ताकेन्द्रित भइदिँदा राष्ट्रका अहम् चासो एवं प्राथमिकताहरू राजनीतिक बहसको मूलधारबाट टाढै रहे । सरकार बनाउने गठजोडका लागि सबै दलले प्रदर्शन गरेको चरम सिद्धान्तहीन र आधारहीन सत्ता राजनीति क्षणिकजस्तो देखिए पनि त्यो अबका पाँच वर्ष राज्य सञ्चालनमा देखिने प्रवृत्तिहरूको पर्याप्त एवं चिन्ताजनक पूर्वसंकेत हो ।

यो गठबन्धन १५, २० वर्ष कायम रहन्छ भन्ने निर्वाचनमा सबैभन्दा बढी बोलिएको विषय थियो । यसको मूल उद्देश्य राजनीतिक स्थायित्व र समृद्धि दिने भन्ने थियो । गठबन्धन गरेर चुनावमा गएका दल बीच चुनावी नतिजा आउनेबित्तिकै त्यस्ता वाचाबन्धन पनि तोडिए । आफू समावेश भएको गठबन्धनप्रतिको नैतिक पक्षको कतै ख्याल हुँदै भएन । सत्तामा छिटो पुग्न तत्कालै चुनावभन्दा भिन्न नयाँ समीकरण बन्न गयो । यो चरित्र विश्लेषकहरूको टिपोेटमा आयो, ‘यो ठाउँमा कम्तीमा वैचारिक वा दार्शनिक रूपले नजिक भएकाहरू अथवा राष्ट्रिय प्राथमिकता र मुद्दाहरूलाई हेर्ने दृष्टिकोणमा समानता भएका शक्तिहरूबीच सहकार्य गर्ने न्यूनतम राजनीतिक संस्कारको हेक्का पनि राखिएन । जनमतका आधारमा प्राप्त हैसियतअनुसार उच्च राजनीतिक पदहरू दाबी गर्ने वा चुनाव हारेपछि पदीय महत्वाकांक्षाबाट अलग बस्ने सामान्य लोकतान्त्रिक मर्यादाको पनि कतै पालना भएन । यस्तो संस्कारहीन राजनीति विगतदेखि नै फैलिँदै गएको रोग हो र अब चाहिँ यो लिकमा फर्काउनै नसकिने गरी भीरको बाटो लागेजस्तो देखिन्छ ।’

अब राजनीतिमा प्रकट भएको यस्तो दूषित परम्परा सुध्रिन र सुधार्न पर्छ । यस्तो काम कांगे्रसले मात्रै गर्छ । कांंग्रेस सबै परिवर्तनका लागि भएका जनआन्दोलनहरूको नेतृत्वकर्ता दल हो । २००७ देखि २०६० सालसम्मका ऐतिहासिक रूपले सफल भएका जनआन्दोलनहरू त्यसका उदाहरण हुन् ।

यसकै नेतृत्वमा संंविधान घोषणा भयो र यसकै नेतृत्वमा सबै तहका दुइवटा आम निर्वाचन सम्पन्न भए । देशको मूल सिद्धान्त संसदीय पद्धति हो । कांग्रेसले प्रतिपादन गरेको यो व्यवस्था सर्वमान्य भएको छ । व्यवस्थाका लागि अब कुनै आन्दोलन गर्नु पर्दैन भनेर सबै नेताहरूले भनिनै रहनुभएको छ । यी धेरै नै ठूला उपलब्धि हुन् । यसमाथि यो वा त्यो बहानामा आँच आउनु हुन्न । कांग्रेसको नेतृत्वले जहिले पनि सतर्कतापूर्वक ध्यान दिनुपर्ने ठाउँ यही हो । सत्ता भनेको आउने र जाने भइनै रहन्छ । सत्तामा हुँदा त्यसलाई राम्रो चलाउने र सत्ता बाहिर हुँदा संगठनलाई वास्तवमा नै मजबुत बनाउने तर्फ लागियो भने तत्काल प्रकट भएका कांंग्रेसका लागि विषम परिस्थितिहरू जस्ता लाग्ने यस्ता दृश्यहरू आफंै थान्को लाग्छन् । तर यसका लागि पहिलो सर्त हो आफू र संगठनमा व्यापक सुधार हुनुपर्छ ।

सहकार्यमा आधारित राजनीतिको विगत त्यति राम्रो छैन । खासगरी नेतृत्वले सत्ता प्राप्तिका लागि विभिन्न समयमा विभिन्न सम्झौता गर्ने र तोड्ने गरेका शृंखला धेरै लामा बनिसकेका छन् । यसले नेतृत्वको व्यक्तित्व नै निरन्तर क्षयीकरणमा परेको देखिन्छ । प्रत्येक पछिल्ला निर्वाचनमा सम्बन्धित दलका मतहरू घटेको देखिनु त्यसको उदाहरण हुनुपर्छ । प्रायः सबैले देखेभोगेका अनुभव पनि त्यस्तै छन् । एकछिन अघि एउटा अडानमा रहनुभएका नेताहरू क्षणभरमै बोली फेर्न पछि पर्नु हुन्न । अहिले चर्चामा रहेको पुस १० गतेको घटना पनि त्यसमध्येको एउटा हुनुपर्छ र यही मानिएको पनि छ । विभिन्न रिपोर्टमा धेरै पटक भए वा आएअनुसार यो दिन नेपाली राजनीतिमा केही त्यस्तै अप्रत्याशित दृश्य देखिए, नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी संयुक्त रूपमा तीनै तहको चुनावमा होमिएका थिए, चुनावपछि पनि गठबन्धनलाई नै निरन्तरता दिने भद्र सहमति थियो । अनपेक्षित रूपमा यो गठबन्धन टुट्यो ।

माथि उल्लेख भएको आधाघण्टाको समय क्रममा यो काम भएको थियो । यो लोकतान्त्रिक–वाम गठबन्धन एकाएक कसरी फुट्यो र वाम एवं यो निर्वाचनमा नयाँ उदाएका शक्ति एकै ठाउँमा कसरी आए भन्ने पछिल्लो राजनीतिक परिदृश्यको सर्वाधिक चर्चामा आएको यो प्रश्न नेपाली कांग्रेस र यसको नेतृत्वसामु खडा भएको छ । सहीरूपले यसको समीक्षा भएन भने कांग्रेसका लागि यसले तत्काल पु¥याएको क्षति स्थायी हुन सक्तछ । यसबाट पुग्ने नोक्सानी भनेको कार्यकर्ता पंक्तिको आमतहमा निराश बनाएको अवस्था हो । सर्वप्रथम यसलाई चिर्र्न जरुरी छ । तत्कालका लागि कांग्रेसबाट सत्ता गएको हो तर यसको शक्तिलाई आफूबाहेक कसैले क्षति पु¥याउन सक्तैन ।
कांग्रेसका लागि यतिबेला थप शक्ति सञ्चय गर्ने चुनौती आइपरेको छ । त्यसका लागि यो परीक्षाको क्षण पनि हो । यो पटक कांग्रेसमा विगतको भन्दा मत घटेको छ । मतदाता संख्या बढ्नु र यता कांगे्रसमा भने विगतको भन्दा मत खस्नुले शक्ति क्षय हुँदै गएको बुझाउँछ । यो भनेको नयाँ ढंगले जनताबीच जानुपर्ने सन्देश हो । जनतासँग प्रत्यक्ष र नयाँ संवाद सुरु गर्ने त्यसबाट थप शक्ति आर्जन गर्ने महाअभियानमा छिटोभन्दा छिटो लागिहालौंं ।